ताथलीका ज्येष्ठ नागरिकलाई नसर्ने रोगको अभिमुखीकरण

भक्तपुर, मंसिर ३
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुढ्यौैलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ९ को ताथली ज्येष्ठ नागरिक मिलन चौतारीको सहकार्यमा ज्येष्ठ नागरिकहरुलाई नसर्ने रोग सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको छ ।
कार्यक्रम चागुनारायण नगरपालिका–९ को दुई वटा स्थानमा सञ्चालन गरिएको हो । ताथली स्वास्थ्य चौकीसँगै रहेको रेडक्रसको उपशाखामा र भीमेश्वर मन्दिर फैढोकामा गरि दुई स्थानमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएकोे हो ।
कार्यक्रममा ताथली स्वास्थ्य चौकी प्रमुख हरिनारायण प्रसाद शाहले सहभागीहरुलाई नसर्ने रोगका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नसर्ने रोग भनेको के हो र नसर्ने रोग लाग्न नदिन र लागि सकेपछि के के गर्न सकिन्छ भन्ने बारेमा ज्येष्ठ नागरिकहरुलाई अभिमुखीकरण गर्नुभयो ।
उहाँले मुटुको रोग, मधुमेह, क्यान्सर, मृगौला रोग र दम जस्ता नसर्ने रोगहरु लाग्ने कारण, त्यसको रोकथाम तथा निराकणका उपायहरु बारेमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य चौकीमा प्रायजस्तो आउने बिरामीहरू पनि नसर्ने रोगकै रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य कमला भारती गिरीले धेरै जस्तो ज्येष्ठ नागरिकहरू नसर्ने रोगको पिडाले ग्रसित भएको बताउनुभयो । उहाँले अस्वस्थकर खानपिन, वाताबरण प्रदुषण, वंशानुगत र शारीरिक व्यायामको कमीका कारणले पनि नसर्ने रोग बढ्दै गएको बताउनुभयो । कतिपय ज्येष्ठ नागरिकहरूलाई नसर्ने रोग भनेको के हो र सर्ने रोग कस्ता खालका हुन्छन् भन्ने कुरा पनि थाहा नभएको हुँदा यस प्रकारको अभिमुखिकरण कार्यक्रमले स्वास्थ्य सम्बन्धि सचेतना अभिबृद्धि गर्न मद्दत पुग्ने कार्यपालिका सदस्य भारती गिरीले बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले नगरबासीहरुलाई अक्सिजन र रगत निःशुल्क उपलब्ध गराउदै आएको समेत जानकारी गराउनुभयो ।
ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष रामप्रसाद मचामसीले यस्ता कार्यक्रमले समाजलाई राम्रो सकारात्मक सन्देश प्रदान गरेको बताउँदै कार्यक्रम सञ्चालनमा सहयोग गर्नुहुने चाँगुनारायण नगरपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस भक्तपुर जिल्ला शाखाका स्वयंसेवक जयराम लामा र सुदीमा कार्की, वडानम्बर ९ कि सहजकर्ता तुलसा नेपाल लगायत ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा सँगको समन्वयमा सहारा परियोजना अन्तर्गत नगरपालिका भित्रका सबै वडाहरुमा वडा तथा ज्येष्ठ नागरिक मिलन चौतारीको सहकार्यमा यस प्रकारको अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।