दुर्गा प्रसाईको थिमिस्थित घरमा प्रहरीको छापा

भक्तपुर, मंसिर २
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको भक्तपुरको मध्यपुर थिमिस्थित घरमा प्रहरीले मंगलवार छापामारी खोजतलास गरेको छ ।
प्रहरीले सोमवार मध्यराती प्रसाईंलाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाण्डौंको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रसाईंले केही दिन अघि हिँसात्मक अभिव्यक्ति दिएका थिए । सोही कारण प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारवाही गर्ने तयारी स्वरुप पक्राउ गरेको हो ।
प्रसाईंले यही मंसिर ७ गतेबाट आन्दोलन गर्ने तयारी गरिरहेका थिए । सोही क्रममा उनलाई पक्राउ गरी उनको निवासमा मंगलवार प्रहरीले बिहानैदेखी छापामारी खोजतलासको गरेको हो । खोजतलास यो समाचार तयार पार्दासम्म जारी रहेको छ ।
प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार डकुमेन्टेशनको लागि निवासमा छापा मारेको प्रहरी स्रोतले जानकारी दिए ।
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाण्डौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
अहिले प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ । प्रसाईं पक्राउ पछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।