निर्वाचनको कार्यतालिका सार्वजनिक

भक्तपुर, मंसिर १
निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभातर्फको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभातर्फ पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन उजुरीमाथि छानबिन सकाएर पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ ।
प्रतिनिधिसभातर्फ माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । माघ ७ गते उजुरीमाथि छानबिन गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ ।
सोही दिन ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेछ । माघ ९ गते नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
समानुपातिकतर्फ मंसिर २१ गते देखि २३ गतेसम्म निर्वाचनमा भाग लिन चाहने दलहरूले निवेदन पेश गर्नुपर्नेछ । २४ गते दलहरूको नामावली प्रकाशनपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ ।
यसरी पेश भएका उम्मेदवारका सूचीका आधारमा आयोगले माघ २० गते अन्तिम सूची सार्वजनिक गर्नेछ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।