दुर्गा प्रसाईं समर्थित दलको २७ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका दुई जना

भक्तपुर, कार्तिक ३०
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई समर्थित राजनैतिक दल नागरिक बचाउ दलको केन्द्रीय समितिमा भक्तपुरका दुई जना रहेका छन ।
प्रसाईंको समर्थनमा नागरिक बचाउ दल निर्वाचन आयोगमा दर्ताको लागि आइतवार निवेदन दिएको हो । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।
दलको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् भने उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं) र देवीप्रसाद संग्रौला छन् ।
महामन्त्री प्रेम कुमार थाम्सुहाङ (झापा), सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल (मोरङ) र प्रवक्तामा प्रेम थापा मगर (पाल्पा) छन् ।
दलको २७ सदस्यीय कार्यसमितिमा भक्तपुरका रामकुमार कार्की र नवराज दुलाल छन । कार्कीको नाम पदाधिकारी पछि पहिलो नम्बरमा प्रस्ताव गरिएको छ भने दुलाल २० औं नम्बरमा रहेका छन ।
यो पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ । चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको छ ।