भक्तपुर, कार्तिक २९
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा २ (ख)ले शनिवार मध्यपुर थिमिको भुलाँखेलमा बृहत खुल्ला रक्तदान आयोजना गरेको छ ।
युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित २९ जनाले रक्तदान गरेको नेपाल तरुण दल भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा २ (ख)का सभापति विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले युवा विना देशको विकास नहुने भन्दै तरुणहरुले समाजलाई सकारात्मक दिशामा अग्रसर गराउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले युवा लक्षित स्वरोजगारमूलक र उद्यमशिलता विकास गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
रक्तदानमा सहभागीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दुर्लभ थापा, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीलगायतका नेताहरुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।





