भक्तपुर, कार्तिक २९
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो ।
एनपीएल पहिलो पटक फ्लडलाइटमा हुनेछ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे–नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै (१ करोड १० लाख ) कायम राखिएको छ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो । यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन् ।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ४ बजेदेखि सरु हुनेछ ।

यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ठूलो रकम आर्जन हुने अपेक्षा गरिएको छ । क्यानले यस संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको हो ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार टिम ओनर पक्षबाट मात्र करिब ९ करोड रुपैयाँ जुटिसकेको छ । ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ । यसलाई यस पटक लिगको प्रमुख आम्दानी श्रोत मानिएको छ ।
यसका अतिरिक्त टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको खड्काले जानकारी दिए । मैदानको क्षमतासहित खेलप्रति बढ्दो रुचि हेर्दा यो रकम अझ बढ्न सक्ने सम्भावना छ ।
मुख्य तथा अन्य स्पोन्सरसिपबाट करिब १५ करोड रुपैयाँ सम्मको प्याकेज सुरक्षित भएको उनले बताए । यससँगै एनपीएलको दोस्रो संस्करणले कुल आय ३०–४० करोड रुपैयाँको हाराहारीमा पार गर्न सक्ने अनुमान गरिएको छ । यसले नेपाली फ्रेन्चाइज क्रिकेटको आर्थिक स्थायित्वमा सकारात्मक संकेत दिएको छ ।





