सन्तोष परियारले छाडे रास्वपा

भक्तपुर, कार्तिक २८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाड्नुभएको छ । उहाँले पार्टीबाट राजिनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको जानकारी दिनुभएको छ । उहाँ विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक हुनुहुन्थ्यो ।
उहाँले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पार्टीमा राजिनामा दिनुभएको हो ।
निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उहाँले त्यसलाई आफ्नो कमजोरीको रूपमा लिएको बताउनुभयो । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको उहाँले बताउनुभयो ।
‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ परियारले राजिनामा पत्रमा भनेका छन् ।
‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ, यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ परियारले पार्टीमा बुझाएको राजिनामा पत्रमा उल्लेख छ ।