सामाजिक सञ्जालमा एकोहोरो कराउँदैमा नेता बनिँदैन– कांग्रेस नेता अष्ट कवे

भक्तपुर, कार्तिक २८
नेपाली काँग्रेस भक्तपुरका नेता अष्ट कवे जिल्लामा समाजसेवीका रूपमा समेत परिचित छन् । समाजमा निरन्तर खटिरहने उनी समाज सेवामार्फत पार्टीको संगठन निर्माणमा निरन्तर सक्रिय हुँदै आएका छन् । २०४६ र ०६२–०६३ को लोकतान्त्रिक आन्दोलनमा भक्तपुरबाट अगुवाई गर्दै आएका कवेसँग समसामयिक राजनीतिक विषयमा जनआस्थाका लागि राजकुमार रायले गरेको कुराकानी ः
नेपाली काँग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्ने विवाद देखिन्छ । तेस्रो विकल्पका बारेमा पनि केही नेताले आवाज उठाएका छन् । यसरी आ–आफ्नै डम्फु बजाउने काम भैरहँदा तपाईंको विचारमा अब काँग्रेस कसरी अगाडि बढ्नुपर्छ ?
महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भन्ने आवाज एक वर्षअघि नै उठ्दै आएको हो । आउँदो मंसिरमा नियमित महाधिवेशन हुनेमा हामी आशावादी पनि थियौं । तर, यसबीच भदौ २३ को प्रदर्शन र २४ गतेको जेनजी विध्वंशले राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन ल्याइदिएको छ । हाम्रो सोचमा परिवर्तन आएको छ । समाजको प्राथमिकतामा परिवर्तन आएको छ । र, जनभावनामा पनि परिवर्तन आएको छ ।
यसकारण पार्टीको नेतृत्व पनि परिवर्तन हुनुपर्छ भन्ने कुरा आजको वास्तविकता हो । यसका लागि सबैभन्दा पहिले नेताको मानसिकतामा परिवर्तनको खाँचो देखापरेको छ । नेपाली काँग्रेसको हकमा पनि साथीहरूले नेतृत्व परिवर्तनको महशुस गरिराख्नुभएको मैले पाएको छ । पार्टीले विगतमा गरेका कमजोरीप्रति देश र जनतासँग क्षमायाचनासहित महामन्त्रीले नयाँ प्रस्ताव ल्याउनुभएको छ । त्यसको म स्वागत गर्छु । पार्टी अब पुरानै ढर्रा र पद्धतीले चल्न सक्दैन । त्यसकारण हामीमा परिवर्तन हुनुपर्छ भनेरै भक्तपुरमा पार्टीका बहुमत नेता–कार्यकर्ता उक्त प्रस्तावमा सहमत छौं ।
समयमै नियमित महाधिवेशन होस्। आम कांग्रेसी कार्यकर्ताको भावना हो यो। तर, नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनबाट भएपनि बहुमतको आवाजलाई सम्मान गर्नुपर्छ, थप अलमल गरिरहन हुँदैन । हामी सबै काँग्रेसका कार्यकर्तालाई एकढिक्का भई अहिलेको मुलुकको समस्या समाधानमा जुट्न म विशेष आह्वान गर्न चाहन्छु ।
नेपाली काँग्रेसले प्रजातान्त्रिक अभ्यासलाई आत्मसात गर्ने हो भने देशमा लोकतन्त्र सबल र सुदृढ हुन्छ । जेनजी आन्दोलनको माग पनि त्यही हो। समयको परिवर्तनलाई रोक्न सकिंदैन । त्यसैले सम्भव भएसम्म नियमित महाधिवेशन होस् । सबै नेताले यो कुरा स्वीकार गर्नुपर्छ ।
काँग्रेसको इतिहास हेर्दा यो प्रजातान्त्रिक पार्टी नै हो, यसमा विवाद भएन । तर नेताहरूले जसरी पार्टीलाई सत्तामुखी बनाउँदै लगे, आजको दिनसम्म आइपुग्दा केही मुठ्ठीभर व्यक्तिको महत्वाकांक्षा पूरा गर्ने स्वार्थ समूहजस्तो देखिन थालेको छ । यसको निकास के देख्नुहुन्छ ?
यो एकदमै चिन्ताको विषय हो। तर, जुन सत्ता स्वार्थको कुरा गर्नुभयो, मान्छे स्वभावैले अलिअलि स्वार्थी हुन्छन् । अब व्यक्तिगत स्वार्थमा ब्रेक लाग्नैपर्छ । राष्ट्रको हित र जनताको भलाई नै पहिलो प्राथमिकता हुनुपर्छ र यही नै हाम्रो साझा स्वार्थ बन्नुपर्छ । विभिन्न आन्दोलनले दिएको निष्कर्ष र उद्देश्य पनि यही हो । नेपाली काँग्रेसले राष्ट्रघात कहिल्यै गरेको छैन र गर्ने पनि छैन । राष्ट्रहित नै हाम्रो सर्वोपरी हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई हामीले सही ढंगले कार्यान्वयनमा ल्यायौं भने देश र जनताको हित यसैबाट हुन्छ ।
शेरबहादुर देउवा दम्पत्ती जेनजी आक्रमणमा पर्नुभयो । काँग्रेसका दर्जनौँ पार्टी कार्यालय जले । सयौँ नेताका घर खरानी बनाइयो । योभन्दा ठूलो राजनीतिक क्षति भएको छ । यस्तो स्थितिमा काँग्रेसले आगामी चुनाव कसरी सामना गर्छ ?
हाम्रो सभापतिमाथि जुन आक्रमण भयो त्यसको म भत्र्सना गर्छु । त्यो अमानवीय काम हो । म स्वीकार गर्छु—नेपाली काँग्रेसमा कमीकमजोरी छ । त्यसकारण जेनजी पुस्ताको भावना बुझेर अब अघि बढ्नुको विकल्प छैन । जेनजी आन्दोलनले पार्टी र सिंगो देशभित्र रहेको यथास्थितिवादलाई तोडेर युगअनुकूल चल्न जबर्जस्त सन्देश दिएको छ, हामीले यसलाई स्वीकार गरेर जानुपर्छ ।
जेनजी पुस्तालाई साथमा लिएर काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ र बढ्छ पनि । फेरिएको काँग्रेसले मुलुकको मुहार फेर्ने हाम्रो विश्वास छ र यो उद्देश्यमा कटिबद्ध पनि छौँ । देशको सबैभन्दा ठूलो पार्टीको रूपमा काँग्रेस फेरि पनि उदाउने छ ।
तर, जेनजी आन्दोलनपछि पनि नेताहरू सुध्रिएको देखिएन । पुरानै शैलीमा चर्का भाषण गरिरहेका छन् । उमेरले ७० कटिसकेका नेताहरू अझै नेतृत्व छोड्न चाहिरहेका छैनन् । तपाईंले जेनजीको भावनाअनुसार काँग्रेस अघि बढ्छ भन्नु भनेको आफैँमा अन्तरविरोधी कुरा भएन र ?
पटक–पटक सत्तामा पुगेका नेताहरूले सजिलै छोड्न नचाहानु अनौठो कुरा भएन । किनभने लामो समयदेखि उनीहरू त्यसमै अभ्यस्त हुँदै आएका छन् । तर, अहिलेको वास्तविकता के हो भने अब उनीहरूबाट देश चल्न सक्दैन । जहाँसम्म हाम्रो पार्टीको कुरा छ, ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर ‘तपाईंहरू अब काम गर्नसक्ने अवस्थामा हुनुहुन्न, तपाईंहरूबाट हामी अघाइसक्यौं, अब युवा पुस्तालाई मौका दिनुस्’ भनेर आग्रह गरेका छन् । यो आग्रहलाई लत्याउन पाइँदैन । पार्टीभित्रको सत्ता हस्तान्तरण चाँडोभन्दा चाँडो हुन्छ भन्ने हाम्रो विश्वास छ । किनभने हामीले देश बनाउनु छ। स्वच्छ मनले देशको सेवा गर्नुछ ।
जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गराउन सक्ला त ?
चुनाव हुने–नहुने भन्दा पनि जनतामा जान डराउनुहुँदैन भन्ने सबैमा चेतना हुनुपर्छ । जहाँसम्म हाम्रो पार्टीको कुरा हो—नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले चुनावमा भाग लिएर जनताको मताधिकारको सम्मान गर्न हिच्किचाउनु हुँदैन । मलाई लाग्छ, केन्द्रीय कार्यसमितिको बैठक सकिँदासम्म पार्टी त्यहि ठाउँमा पुग्छ र हामी एकढिक्का भएर नयाँ नेतृत्वसहित चुनावमा जानेछौँ ।
भक्तपुरमा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनप्रति कटाक्ष गरिरहेका छन् । अन्य राजनीतिक दलप्रति पनि उनको अभिव्यक्ति आक्रामक देखिन्छ । काँग्रेस नेताहरू खासै बोलेको सुनिँदैन । कतिपयले भक्तपुरमा महेशमात्र एकजना नेता रहेछन् भनेको पनि सुनियो, कुरो के हो ?
सामाजिक सञ्जालमा कराउँदैमा, मिडियामा गएर चर्को स्वरमा बोल्दैमा कोही नेता हुन्छ र ? त्यो गलत कुरा हो। यस्ता कुराको पछाडि लाग्नु हुँदैन ।
जनआस्थाबाट