नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त बैठक नगरकोटमा बस्ने

भक्तपुर, कार्तिक २८
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेश संसदीय दलको संयुक्त पूर्ण बैठक यही कार्तिक २८ र २९ गते भक्तपुरको नगरकोटमा बस्ने भएको छ । बैठकको संयोजन नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले गरिरहेको छ ।
बैठकमा मुलुकको वर्तमान राजनैतिक अवस्था, नेपाली कांग्रेसको भावी महाधिवेशनलगायतका विषयमा छलफल हुने बैठकका संयोजक एवम् नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कृष्णलाल भँडेलले बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले यो बैठकले जेन–जी आन्दोलन पछिको राजनैतिक अवस्थाको विष्लेषण गर्दै कांग्रेसको जारी केन्द्रीय समिति बैठकलाई समेत आवश्यक सुझाव दिने बताउनुभयो ।
उहाँले बैठक भक्तपुर कांग्रेसको शक्ति प्रदर्शन समेत रहेको बताउनुभयो । “कांग्रेसले केही गर्न सकेन । कांग्रेसको कार्यक्रम भएन । कांग्रेस सुतिरहेको छ भन्नेहरुलाई यो बैठक एउटा शक्ति प्रदर्शन पनि हुनेछ,” उहाँले भन्नुभयो, “हामी सुतेका छैनौ, वडा वडामा, नगरपालिका र जिल्लास्तरमा निरन्तर कार्यक्रम गरिरहेका छौँ, वागमती प्रदेश सभाको बैठक पनि भक्तपुरमै आयोजना गर्दैर्छौ ,महत्वपूर्ण निर्णय सार्वजनिक गर्छौ ।”
उहाँले कांग्रेसका केही नेताहरु नै धमिलो पानीमा माछा मार्ने प्रयासमा रहेको आरोप समेत लगाउनुभयो । “जेनी आन्दोलनपछि कांग्रेस थप एक ढिक्का भएर अगाडि जानुपर्ने, कांग्रेस नेतृत्व र पार्टी कार्यालयमा भएको आक्रमणको निर्मम समिक्षा गरेर अघि बढ्नु पर्ने बेलामा कांग्रेसकै केही नेताहरु धमिलो पानीमा माछा मार्ने कोशिष गरिरहेको छ,” उहाँले आरोप लगाउनुभयो ।
पार्टीको महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर अभियान गलत भएको भन्दै उहाँले यस्ता अभियानले जिल्ला जिल्लामा भएको कांग्रेसको एकतालाई भाँडेर विभाजन ल्याउन खोजेको र भक्तपुमा समेत त्यही अबस्था ल्याएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीमा जान हतारो गरेर धमिलो पानीमा माछा मार्न खोज्ने नेताहरुलाई हासियार भन्न चाहन्छु, सामाजिक सञ्जालमा भड्काएर पार्टी सभापति हुने होइन, पार्टी सभापति माथिको हातपात रोक्न नसक्ने, पार्टी कार्यालय जलाउन रोक्न नसक्ने, आफ्नै घर जल्नबाट रोक्न नसक्नेले पार्टीको नेतृत्व खोज्नु भन्दा पहिला पार्टी बलियो बनाउन लाग्नुस् ।”
जनता र पार्टीका कार्यकर्तामा भ्रम फैलाएर पार्टी बलियो नहुने भन्दै सभापति थापाले हस्ताक्षरको नाममा अस्टे«लियामा बसेका कार्यकर्ताको समेत हस्ताक्षर गरेको पाईएको बताउनुभयो । महामन्त्री गगन थापाको गतिबिधिले भक्तपुर कांग्रेसको एकता समेत भाड्न खोजेको भन्दै उहाँले यस्तो अबस्थामा नगरकोटमा सम्पन्न हुने प्रदेशको पूर्ण बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सभापतित्व गर्ने बैठकको शुभारम्भमा पार्टी कार्यबहाक सभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने संयोजक भँडेलले जानकारी गराउनुभयो ।
बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्यहरु, बागमती प्रदेश सभाका सदस्यहरु, बागमती प्रदेशका १३ जिल्ला सभापतिहरु, भक्तपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको सहभागिता रहने भँडेलले बताउनुभयो ।
बैठकमा सहभागीहरुलाई मध्यपुर थिमिको शंखधरचोकमा स्वागत गरी मोटरसाइकल र्यालीसहित नगरकोट लैजाने तयारी रहेको छ । नगरकोट बसपार्कबाट धिमे लगायतका बाजाहरु, साँस्कृतिक झाँकीसहित बैठकस्थल पुर्याउने कार्यक्रम रहेको छ ।