भक्तपुर, कार्तिक २७
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–८ बस्ने ४३ वर्षिय कृष्ण बहादुर खड्का बा ४ च ३९१६ नम्बरको निलो रंगको कार चढेर हिँड्छन । झट्ट हेर्दा कुनै व्यवसाय तथा व्यापार गर्ने व्यापारी वा व्यवसायीको जस्तो उनको जीवनशैली छ ।
वास्तवमा उनी कुनै व्यापारी वा व्यवसायी होइनन । तर पनि उनको जिवनशैली एक प्रतिष्ठित व्यक्तिको जस्तो छ । जब प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा जुन तथ्यको खुलासा भयो, तब प्रहरी नै चकित बन्यो । उनी त पेशेवर र पटके चोर रहेछ । चोरीको आरोपमा यसअघि ३८ पटक पक्राउ परी छुटेका उनी यसपटक ३९ औं पटक पक्राउमा परेका हुन ।
भक्तपुरका विभिन्न स्थानहरूमा संगठित समुह बनाई योजनाबद्ध तरिकाले पाकेटमारी, लुटपाट, जबरजस्ती चोरी गर्ने समूहलाई पक्राउ गर्नेक्रममा खड्कालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखाले पक्राउ गरेको हो । उनीसँगै अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।
खड्कासँगै पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ का २६ वर्षीय साधुराम भुजेल, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ कि २३ वर्षीया अनु गजमेर, रामेछापको दोरम्बा गाउँपालिका–८ का २२ वर्षीय बिशाल तामाङ, काभ्रेको भुम्लु–३ का २६ वर्षीय सुदीप भण्डारी, भुम्लु–३ कै २८ वर्षीय राजिब भण्डारी, काभ्रेको महाभारत गाउँपालिका–६ का २७ वर्षीय सुरज तामाङ र भुम्लु –३ का २९ वर्षीय सुजन भण्डारी छन् ।
उनीहरूले समूह बनाई चोरी, पाकेटमारी तथा लुटपाट गर्ने गरेको काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताउनुभयो ।
अनुसन्धानका क्रममा उनीहरु पाकेटमारी, चोरी, लुटपाट गर्नको लागि समुह बनाई एउटै स्थानमा बस्ने गरेको पाईएको छ । उक्त कार्यमा मोटरसाइकल र कार प्रयोग गर्ने गरेको छ । सार्वजनिक सवारी साधनहरूमा सबै जना सँगै चढ्ने र टार्गेट छनौट गर्दै पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने र संगठित भई जबरजस्ती चोरी तथा लुटपाट समेत गर्ने गरेको एसपी आचार्यले बताउनुभयो ।
उहाँका अनुसार खड्काको समूह पाकेटमारी, चोरी, लुटपाट गरिसकेपछि गाडीबाट ओर्लिदा सबै व्यक्ति एकै पटक नओर्लिई पालै पालो विभिन्न स्थानहरूमा ओर्लिन्थे । पाकेटमारी, चोरी, लुटपाट गरेका धनमालहरू समुहमा बाँडफाँड गर्ने गरेको र पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्ने मानिसहरूको साथमा भएको सिक्रि समेतका गरगहनाहरू लुटपाट गर्ने गरेको पाईएको छ ।
कारमा चढेर पैसावाल मान्छे, गरगहना लगाएका मान्छेको रेकी गर्ने र एकान्त ठाउँ पुगेपछि लुटपाट गर्ने शैली देखिएको एसपी आचार्यले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट लुटपाट गर्न प्रयोग गरेको बा ४ च ३९१६ नम्बरको कार समेत बरामद गरेको छ । त्यस्तै, चार थान मोटरसाइकल, सर्जिकल ब्लेड १ थान, १४ थान मोबाइल, नगद चार लाख २८ हजार ८८० रुपौयँ, भारु ६ हजार ६९०, अमेरिकन डलर २८ सय बरामद भएको छ । सुनको सिक्री, झुम्का, औठी, ब्रासलेट समेत बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।





