भक्तपुर, कार्तिक २१
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् पुर्वमन्त्री महेश बस्नेतले बिहिवार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको एउटा स्टाटस माथि नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
बस्नेतले बिहिवार फेसबुकमा ‘गुण्डुमा कांग्रेस हुँ भन्ने एउटा केटो जेन्जी आन्दोलनमा वडा कार्यालय, प्रहरी चौकी, मेरो घर, रविन्द्र जी घर जलाउन सक्रिय भएर नेतृत्व गर्यो । निगरानीमा परेपछि दुई महिना चुपचाप बस्यो । अहिले फेरी मध्यरातमा रक्सी र गाजा खाएर फुर्ति लगाउँदैं गुण्डुका युवाहरुलाई बदनाम गर्न मिडियाबाजी गर्न थालेछ । यस्ता जेन्जी आन्दोलनमा आगजनी गर्ने व्यक्तिहरुलाई कांग्रेसले किन कारवाही गर्दैन ? के अब जेलको हावा खान खोजेकै हो त ? अहिलेसम्म हामीले सहेका छौं अब यसको विरुद्ध जाहेरी हाल्नै पर्ने हो त ?’ भन्ने अभिव्यक्ति पोष्ट गरेका थिए ।
काग्रेस सूर्यविनायक सचिवद्धय सुमन न्यौपाने र विश्वराम थापाको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा जेन जी आन्दोलनका क्रममा नेपाली कांग्रेस सूर्यविनायक नगरसमिति आवद्ध कोहीपनि व्यक्तिहरु कुनैपनि तोडफोड र विध्वंसमा सहभागी नभएको दावी गर्दै कदम कदाचित कहीँकतै विध्वंस कार्यमा संलग्न भएको पाइएमा छानविन गरी उपयुक्त कानुन कारवाही गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा ‘नेपाली कांग्रेसका साथीहरु लक्षित गरी राजनीतिक आग्रह पुर्वाग्रह राखी निर्दोष कुनै पनि साथीहरु माथि कपोलकल्पित लाञ्छना लगाई आरोप लगाउने, तर्साउने, धम्काउने र नेपाली कांग्रेस आवद्ध पार्टीका साथीहरुको चरित्र हत्या गरी मनोबल गिराउने कार्यहरु क्षम्य हुन सक्दैन,’ उल्लेख छ ।
विज्ञप्तीमा राजनीतिक दलमाथि नै सबैतिरबाट आक्रमण भइरहेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र एवम् वर्तमान संविधान सम्बन्ध राजनीतिक दलका साथीहरु मित्रवत प्रतिष्पर्धा र संयम हुन आग्रह गर्दै मित्रवत व्यवहारमा सबै सचेत रहन अपिल समेत गरिएको छ ।
कांग्रेस सूर्यविनायक नगरसमितिले आफ्ना निर्दोष साथीहरु माथि गरिएको र गरिने सबै खाले आक्रमणको सामना गर्ने र त्यस्तो परिस्थिति सृजना नगर्न समेत सम्बन्धित सबैमा आग्रह गरेको छ ।






