निलबाराही मन्दिरको पहिरो नियन्त्रण सम्बन्धी योजना कार्यान्वयन माग गर्दै नगरपालिकामा स्थानीयको धर्ना

भक्तपुर, कार्तिक १८
मध्यपुर थिमि–९ टिगनीका स्थानीय बासिन्दाले ऐतिहासिक एवम् पुरातात्विक महत्वको निलबाराही मन्दिर वरपरको भू–क्षय तथा पहिरो नियन्त्रण सम्बन्धी योजना यथाशिघ्र कार्यान्वयन माग गर्दै मंगलवार नगरपालिका कार्यालयमा धर्ना दिएका छन ।
वडाअध्यक्ष सानुकाजी राजबहाक, स्थानीय अग्रज रमेश राजबहाक लगायतको नेतृत्वमा स्थानीयहरुको समूह टिगनीदेखी र्यालीका साथ नगरपालिका कार्यालय पुगेर धर्ना दिएको हो । उनीहरुले स्थानीय करिव ४ सय जनाको हस्ताक्षरसहित ज्ञापनपत्र समेत बुझाएका छन ।
धर्नालाई सम्बोधन गर्दै ईं. दिलिप गसीले काठमाण्डौं उपत्यका विकास प्राधिकरणले तयार गरेको योजनामा पटक पटक छलफल गरी आवश्यक परिमार्जन समेत भइसकेकोले उक्त योजना कार्यान्वयन गर्न अब ढिलाई गर्न नहुने बताउनुभयो ।
उहाँले निलबाराहीमा सरोकार समितिले धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले श्रमदानको नाममा अहमता निकाल्न नहुनेमा जोड दिँदैं श्रमदानलाई सुरक्षित अवतरण गरी नगरपालिकाको योजना कार्यान्वयन गर्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निलबाराहीको नाममा आफ्नो नाम बदनाम नगर्न समेत आग्रह समेत गर्नुभयो ।
स्थानीय अगुवा रमेश राजबहाकले निलबाराही मन्दिरको मौलिकता जोगाउँदैं त्यहाँको भू–क्षय र पहिरो रोकथाम सम्बन्धी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निलबाराही क्षेत्रमा विनियोजन गरिएको बजेट कुनैपनि हालतमा फिर्ता हुन नहुने भन्दै बजेट फिर्ता गए आमरण अनसन सम्मको आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
गायक तथा समाजसेवी हरीसुन्दर लाखेले निलबाराहीको बजेट कार्यान्वयन भएन भने स्थानीय जनताले नगरपालिका भनेको नगरपालिकाको कार्यालय र वडाको भवन मात्र रहेछ भनी बुझ्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले निलबाराहीमा भएको श्रमदानमा अप्रत्यक्षरुपमा सहकार्य गरेको विषय सरोकार समिति पदाधिकारीहरुले सार्वजनिक नगरेको भन्दै गुनासो गर्नुभयो ।
उहाँले निलबाराही मन्दिरको योजना कार्यान्वयनको विषयलाई जित हारको विषय बनाउन नहुनेमा जोड दिनुभयो । योजनाको डिपिआर बनाउन र डिजाइन बनाउन प्राविधिकहरुले महिनौ लगाएर स्थलगतरुपमा काम गरेर माटो परीक्षणलगतायका काम गरेको तथ्यलाई बंग्याएर केही अभियन्ताले भ्रम सिर्जना गरेको आरोप समेत लगाउनुभयो ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ निलबाराही मन्दिर संरक्षणका लागि विनियोजित बजेट कुनै पनि हालतमा फिर्ता नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निक्कै ठूलो मेहनतले निलबाराहीमा २३ करोड रुपैंया बजेट सुनिश्चित गराउन सफल भएको बताउँदैं उक्त योजना कार्यान्वयन हुनेमा स्थानीयलाई आश्वस्त पार्नुभयो ।
उहाँले निलबाराही मन्दिर संरक्षणको योजना कार्यान्वयन गर्न अवरोध गर्नेलाई कानून बमोजिम कारवाहीको बाटोमा जाने चेतावनी समेत दिनुभयो । उहाँले निकट भविष्यमा नै निलबाराहीको लागि अर्को योजनाको ठेक्का लाग्ने जानकारी गराउँदैं टिगनीका स्थानीयको जस्तै पुरै मध्यपुर थिमिका जनताको साथ सहयोगको अपेक्षा राख्नुभयो ।
उहाँले आवश्यक सामग्री नगरपालिकाले नै सहयोग गरेर निलबाराहीमा श्रमदान शुरु भएको स्मरण गराउँदैं निलबाराहीमा माटो ल्याउन चाँगुनारायण नगरपालिकासँग समन्वय गरीदिएको बताउनुभयो ।
स्थानीय पञ्चलाल राजबहाकले स्थानीय सरोकार समिति, नगरपालिका, सरकारी निकाय र स्थानीय बासिन्दा सबै एकआपसमा हातेमालो गरेर योजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले निलबाराही संरक्षणको योजना कार्यान्वयन गर्ने सवालमा परिवार भित्रै फुट आउन थालेको भन्दै यस्तो हुन अत्यन्त गलत भएको बताउनुभयो ।
अभियन्ता सुरेश श्रेष्ठले एक जना व्यक्तिको जिद्धीले निलबाराही मन्दिरमा भइरहेको श्रमदान अभियान धरापमा परेको र सरकारले विनियोजन गरेको बजेट फिर्ता जाने परिस्थिती बनेको भन्दै बजेट कुनैपनि हालतमा फिर्ता हुन नहुने बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबहाकले वडाका करिव ३ सय जनाले निलबाराहीको योजना छिटो सञ्चालन गर्न माग गर्दै निवेदन दिएकोले नगरपालिकामा दवाब दिनु परेको बताउनुभयो ।
उहाँले निलबाराहीको योजना बारे सूचना दिएन भन्नेहरुले योजनाको सूचनापाटी जलाएर सूचनाको हकको बर्खिलापको काम गरेको आरोप लगाउनुभयो ।
काठमाण्डौं उपत्यकाको चार प्रमुख बाराही मध्येको एक निलबाराही मन्दिर २ हजार ५ सय वर्ष पुरानो मानिएको छ । धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण निलबाराही मन्दिर भू–क्षय र पहिरोका कारण जोखिममा परेको छ ।
मन्दिरको संरक्षणका लागि विभिन्न समयमा दर्जनौ साना ठूला योजना कार्यान्वयन भएपनि मन्दिर वरपरको भू–क्षय र पहिरो नियन्त्रण हुन नसकेपछि नगरपालिकाको वर्तमान नेतृत्वले दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्ने जमर्को गरेको हो । सोही बमोजिम शहरी विकास मन्त्रालय र काठमाण्डौं उपत्यका विकास प्राधिकरणबाट क्रमागतरुपमा २३ करोडको बजेट सुनिश्चित गर्न सफल भएको हो ।
सोही बजेट कार्यान्वयनका लागि तयार भएको योजना सञ्चालनको क्रममा केही अभियन्ता र स्थानीय सरोकार समितिको नाममा विभिन्न बहानामा अवरोध गरेपछि योजना कार्यान्वयनमा ढिलाई भइरहेको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।