भक्तपुर, कार्तिक १५
मध्यपुर थिमि–९, निकोशेरामा दिउँसै लुटपाट भएको छ । स्थानीय ढुगेंधारा बस्ने ७६ वर्षिय कृष्णभक्त कासुलाको घरमा शुक्रवार दिउँसो लुटपाट भएको हो ।
प्रहरीले उक्त लुटपाटमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षिय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाँउपालिका–१ का ३० वर्षिय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाँउपालिका–४ का ४३ वर्षिय लोकेन्द्र पुन र उदयपुर बेलटारका ४० वर्षिय राजु राई रहेका छन ।
उनीहरुले निकोशेराका कासुलाको टाउकोमा दाउराको चिरपटले प्रहरी गरी घाईते बनाएर लुटपाट गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जुवेगुले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती मध्ये दुई जनाले घरको झ्यालबाट प्रवेशगरी कासुलाको टाउकोमा दाउराको चिरपटले प्रहार गरेका थिए । घाईते कासुलालाई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा थप उपचारको लागि काठमाण्डौ मेडिकल कलेज सिनामंगल लगिएको छ ।
पक्राउ परेका विक्रम थापा र राम बहादुर तामाङ यसअघि पनि चोरी, लुटपाट र लागू औषधअपराधमा संलग्न भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ जुवेगुले बताउनुभयो ।
यसैगरी गत भदौको जेन–जी प्रदर्शनका क्रममा प्रहरी वृत्त थिमिको हिरासत कक्षबाट फरार भएका विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्छे घरभई हाल मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने ३० वर्षिय निकेश राउत हुन ।
यस्तै सोही प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीबन्दीहरु मध्ये भक्तपुर प्रहरीले थप एक जनालाई पक्राउ गरी सम्बन्धीत कारागारमा पठाएको प्रनाउ जुवेगुले बताउनुभयो । यससँगै भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरु मध्ये भक्तपुर प्रहरीले पक्राउ गरेका कैदीबन्दी हरुको संख्या १४ पुगेको छ ।





