भक्तपुर, कार्तिक १५
पुर्वराष्ट्रिय खेलाडी तथा कप्तान हरी खड्का नेपाली पुरुष फुटबल टोलीको मूख्य प्रशिक्षक नियुक्त भएका छन । मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खड्कालाई शुक्रवार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
खड्काको प्रशिक्षणमा नेपाली टोलीले यही कार्तिक २७ गते बंगलादेशसँग मैत्रीपूर्ण र मंसिर २ गते मलेसियासँग एसियन कप छनोट खेल्ने छ । खड्का महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको ६ बर्षपछि पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन ।
एन्फाको टेक्निकल डाइरेक्टर समेत खड्कालाई एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षकको नियुक्त पत्र प्रदान गरे । खड्काले अहिले तत्काल प्रशिक्षक नियुक्त गर्ने समय नभएको कारण जिम्मेवारी लिनुपर्ने अवस्था आएको बताए ।
खड्का एन्फाको टेक्निकल डाइरेक्टर पदमा कार्यरत थिए । मूख्य प्रशिक्षक खाली हुँदा तत्काल कुनै खेल खेल्नु परे टेक्निकल डाइरेक्टरलाई मूख्य प्रशिक्षकको जिम्मेवारी दिने अन्तराष्ट्रिय प्रचलन अनुसार खड्कालाई जिम्मेवारी दिएको हो ।
‘परिस्थितिले जिम्मेवारी लिनुपर्ने अवस्था बन्यो । संकट पर्दा टेक्निकल डाइरेक्टर मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने विश्व फुटबलमा प्रचलन छ,’ खडकाले भने, ‘मैले सम्हाले भनेको अर्को व्यवस्था नभएसम्मको लागि हो । हामी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक को नियुक्तिको प्रक्रिया पनि अघि बढाउँछौं ।’
एक दशकअघि प्याट्रिक अजम्स राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षक रहँदा खड्का सहायक प्रशिक्षक थिए । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला राष्ट्रिय टोली फाइनलमा पराजित भएपछि खड्काले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
पोखरामा भएको फाइनलमा भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजीनामाको घोषणा गरेका थिए । उनको नेतृत्वमा नेपाली महिला टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।
उनको प्रशिक्षणमा महिला टोलीले भारतमा हिरो कप, उज्वेकिस्तानमा नाजेज्दा कप, विराटनगरमा साफ च्याम्पियनसिप र पोखरामा सागको फाइनल खेलेको थियो । खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।





