भक्तपुर, कार्तिक १५
गत भदौंमा भएको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्रि गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट ती पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ, धुनिवेशी गाउँपालिका घर भइ काठमाण्डौं महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षिय कृष्ण गुरुङ, काठमाण्डौं महानगरपालिका–१५ भगवानपाउँ जर्मन क्वाटर बस्ने २५ वर्षिय राजन देउला, भारत, मोतिहारी सितामणी घर भइ काठमाण्डौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षिय अकबर खान रहेका छन ।
यसैगरी काठमाण्डौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षिय सुमिन शाक्य र काठमाडौं महानगरपालिका३१ बानेश्वर घर भइजिल्ला काठमाडौं, काठमाण्डौं महानगरपालिका–१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षिय प्रभात मल्ललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार आचार्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरु मध्ये गुरुङ पेस्तोल लुटपाटमा संलग्न भएको र मल्ल हतियार खरिद गर्ने व्यक्ति रहेको आचार्यले बताउनुभयो । अन्य तीन व्यक्तिहरु भने हतियार खरीद बिक्रिमा वितरणमा संलग्न भएका हुन ।
उनीहरूबाट प्रहरीले एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाण्डौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।





