भक्तपुर, कार्तिक ११
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा सोमवार राती सिंगापुर प्रस्थान गरेको छ । जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पु¥याएका थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।
निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नेछन् । यसअघि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर पुगिरहेका हुन्थे ।





