विशेष मौसम बुलेटिन ः ठाउँठाउँमा वर्षा र हिमपात, सावधानी अपनाउन अनुरोध

भक्तपुर, कार्तिक ११
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलवारदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।
यस प्रणालीको प्रभावले कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पोष्ट मनसुन विशेष मौसम बुलेटिन जारी गरी उक्त जानकारी दिएको छ ।
महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात÷वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।
यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । विभागका अनुसार गोरखा, मनाङ मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तै दोलखा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान दुवै रुकुम, बाग्लुङ, सुर्खेत, बाँके र बर्दियामा पनि ख्याल गर्न अनुरोध गरिएको छ ।