साम्बाको २ गोलमा नेपालसँग भारत पराजित

भक्तपुर, कार्तिक १०
कप्तान एवम् स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को २ गोल मद्दतले नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई २–१ ले हराएको छ ।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेल सावित्राले खेलको दोस्रो र ६३ औं मिनेटमा गोल गरेको हो । भारतको लागि करिश्मा पुरूषोत्तम सिरभोएकरले खेलको ८१ औं मिनेटमा सान्त्वना गोल गरिन् ।
साम्बाले खेलको दोस्रो मिनेट उत्कृष्ट गोल गरिन् । डिफेन्डर विमला विकको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरेकी हुन ।
खेलको १४ औं मिनेटमा भारतको प्रयासमा गोलकिपर अन्जना राना मगर बाधक बनिन् । रतनबालाले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारलाई अन्जनाले पन्च गरेर बचाइन् । ४३ औं मिनेटमा साम्बाले पाएको मौकामा भारतीय गोलकिपर बाधक बनिन् । पहिलो हाफ १–० को नतिजामा सकियो ।
नेपालले ६३ औं मिनेटमा अग्रता दुगुना गर्यो । करिब २५ यार्ड टाढाबाट साम्बाले हानेको फ्रि–किक प्रहार आकर्षक गोलमा परिणत भयो । नेपालकी गोल मसिन साम्बा यो ६६ औं अन्तर्राष्ट्रिय गोल हो । नेपाल २–० को स्पष्ट अग्रता बनाउन सफल रहयो ।
७९ औं मिनेटमा रेखा पौडेललाई रिप्लेस गर्दै मिना देउवाले राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । यता ८१ औं मिनेटमा भारतले एक गोल फर्कायो । फ्रि किकमा आएको बलमा करिश्माले गोल गरिन् । त्यसपछि खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जित हात पा¥यो । नेपालले भारतलाई हराएको यो चौथो पटक हो ।
इरान लगातारको दोस्रो जितमा च्याम्पियन बनिसक्दा यो नतिजामा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अन्त्य सुखद गरेको छ । घरेलु टोली भारत भने दुवै खेलमा पराजित हुन पुग्यो । इरान र भारत दुवै एएफसी महिला एसियन कप छनोट भएका टोली हुन् ।
भारतविरुद्ध खेलका लागि प्रशिक्षक नविन न्यौपानेले इरान विरुद्धको टोलीमा ३ परिवर्तन गरेका थिए । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिराकुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाएका थिए । महिला राष्ट्रिय टोली सम्हालेको दोस्रो खेलमा उनको यो पहिलो जित हो ।
यसअघि इरानले नेपाललाई ३–० र भारतलाई २–० ले हराएको थियो । अब नेपालले सिकिममा भारतसँग अर्को मैत्रिपूर्ण खेल खेल्नेछ ।