भक्तपुर, कार्तिक ९
भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपाली गोल्डेन गर्ल धाविका सन्तोषी श्रेष्ठले अर्को राष्ट्रिय किर्तिमान बनाएका छन भने नेपाली धावक सोम बहादुर कुमालले रजत पदक जितेका छन् ।
सन्तोषीले महिला १० हजार मिटर दौडमा नयाँ किर्तिमानसहित कास्य पदक जिते । उनले ३४ः४७ः७७ मिनेटमा निर्धारित दुरी पार गरेका हो । यससँगै सन्तोषीले कान्छाीमाया कोजुको नाममा रहेका ३५ः०३ः मिनेटको रेकर्डलाई तोडेर नयाँ कीर्तिमान राखेकी हुन् । सन्तोषीले शुक्रबार मात्रै ५ हजार मिटरमा पनि खेलेकी थिइन, जसमा पनि राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी थिइन् ।
सन्तोषीले अन्तिम ल्यापसम्म लिड गरेकी थिइन् । उच्च प्रतिस्पर्धाबीच उनले दोस्रो हुनेसँग ०२ः३० सेकेण्ड र पहिलो हुनेसँग ०७ः८२ सेकेण्डले पछि पर्दै कास्यमा चित्त बुझाइन् ।
यसैगरी सोमले पुरुष ८०० मिटर दौडमा रजत जितेका छन् । सोमले निर्धारित दुरी १ मिनेट ५२.०३ सेकेण्डमा पूरा गरे । जारी च्याम्पियनसिपमा नेपालको यो पहिलो रजत पदक हो ।
अन्तिम समयमा सोमलाई उछिनेका श्रीलंकन हर्स एस कारले १ मिनेट ५१.९६ सेकेण्ड समयमा दुरी पूरा गर्दै स्वर्ण जिते । यस्तै भारतीय खेलाडी मोगाली वेनकातारामले १ मिनेट ५२.३७ सेकेण्डसहित कांस्य जिते ।





