भक्तपुर, कार्तिक ९
भक्तपुरको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेको सरुवा भएको छ । गृहमन्त्रालयले आइतवार ३६ जना सहसचिवको सरुवा गर्दा भक्तपुरका प्रजिअ घिमिरेको पनि सरुवा भएको हो ।
गृह मन्त्रालयमा रहेका घिमिरे दुई महिना अघि मात्र भक्तपुरको प्रजिअमा सरुवा भएर आउनुभएको थियो । गत भदौ ५ गते भक्तपुरको प्रजिअको जिम्मेवारीमा सरुवा भई आउनुभएका घिमिरेलाई जेन–जी आन्दोलनपछि गठन भएको सरकारले दुई महिनामा नै सरुवा गरेको हो । घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा गरिएको गृह मन्त्रालयले आइतवार जारी सूचनामा उल्लेख छ ।
भक्तपुरको प्रजिअमा उमेश कुमार ढकाललाई ल्याईएको छ । काभ्रेपलाञ्चोकमा प्रजिअको जिम्मेवारीमा रहेका ढकाललाई भक्तपुर ल्याईएको हो ।
घिमिरेको सरुवासँगै भक्तपुरमा पछिल्लो ५ महिनामा तीन जना प्रजिअ फेरिएका छन । तत्कालिन प्रजिअ गोपालप्रसाद अर्यालको २०८२ असार ५ गते सरुवा भएको थियो । भक्तपुरमा प्रजिअको जिम्मेवारी सम्हालेको ७ महिनामा नै अर्याललाई सरुवा गरिएको थियो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्यालको स्थानमा भरतमणी पाण्डेलाई ल्याएको थियो । ओली सरकारले नै गत भदौ ५ गते पाण्डेको स्थानमा घिमिरेलाई ल्याएको थियो ।
विषम परिस्थितीमा बाहेक प्रजिअको कार्यकाल एक वर्षको हुने गर्दछ । तर भक्तपुरमा पछिल्लो दुई वर्षमा चार जनाले प्रजिअको जिम्मेवारी पाएका छन । लगातार तीन जना प्रजिअको अवधि नपुग्दै सरुवा गरिएको छ ।
जिल्लास्थित सुरक्षा स्रोतका अनुसार तत्कालिन प्रजिअ अर्याललाई ७ महिनामा नै सरुवा गर्नु सूर्यविनायक नगरपालिका–९ नंखेलको काँक्राबारीमा गरिएको जग्गा प्लटिङ प्रमुख कारण थियो । निकभुजिक कम्पनीले अवैधरुपमा गरेको जग्गा प्लटिङमा रोक लगाउनुका साथै कानूनी कारवाही प्रक्रिया अघि बढाएपछि अर्यालको सरुवा गरिएको स्रोतले जानकारी दिए ।
अर्यालको स्थानमा ल्याईएका पाण्डे स्वयम् अर्थ मन्त्रालय जान चाहेकोले पनि २ महिनामा नै सरुवा गरिएको स्रोतले बताए ।
पाण्डेको स्थानमा ल्याईएका घिमिरेले प्रजिअको जिम्मेवारी सम्हालेको एक सातामा नै जेन–जी प्रदर्शन भएको थियो । जेन–जी प्रदर्शनका क्रममा उपत्यका तीन जिल्ला मध्ये भक्तपुरमा तुलनात्मकरुपमा कम क्षती भएको थियो । सुरक्षा संयन्त्रले संयमता अपनाएका कारण भक्तपुरमा कम क्षती भएको विष्लेषण गरिएको थियो ।
जेन–जी आन्दोलनका क्रममा तुलनात्मकरुपमा कम क्षती भएतापनि पछिल्लो समय भक्तपुर सुरक्षाको उच्च संवेदशिल जिल्लाको रुपमा रहेको छ । दुर्गा प्रसाईंका कारण सुरक्षा थ्रेट बढेको भक्तपुरमा जेन–जी आन्दोलनले सत्ता उलटपलट भई प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएपछि थप सुरक्षा थ्रेट बढेको छ ।
विशेष गरी नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवम् युवा संघका इन्चार्ज महेश बस्नेतको पछिल्लो गतिविधि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरकै गुण्डुमा बस्न थाल्नु र गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरुको छानविन गर्न गठित उच्च स्तरीय आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको निवास भक्तपुरको गुण्डु भएका कारणले पनि भक्तपुरमा सुरक्षा थ्रेट बढेको सुरक्षा स्रोतले बताए ।





