नेपाली नोटमा नेपाल संवत अंकित गर्न प्रक्रिया अघि बढाउने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

भक्तपुर, कार्तिक ५
प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्र बैंकबाट निष्कासन हुने नेपाली नोटमा नेपाल संवत अंकित गर्न प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल संवत ११४६ न्हुदँ (नयाँवर्ष)को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार मध्यपुर थिमिको शंखधरचोकमा आयोजित माल्यापर्ण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
“नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,” प्रधानमन्त्री कार्कीले भन्नुभयो ।


उहाँले नेपाल संवत कुनै राजा महाराजाले नभई एउटा व्यापारीले ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएको सम्झना शुरु भएको संवत भएको उल्लेख गर्नुभयो ।
ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने साख्वाःको त्यो निर्णय ऐतिहासिक भएको चर्चा गर्दै उहाँले साख्वाःको उक्त कार्यले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताउनुभयो ।
सरकारी कार्यालयमा पनि नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन व्यक्त गर्दै उहाँले नेपाल संवतको प्रचलनको अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।
उहाँले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताउँदैं जेनजी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुन न कुनै माध्यमबाट सरकारले संवाद भइरहेको जानकारी गराउनुभयो ।
उहाँले सरकार भयरहित वातावरणमा निर्वाचन गराउन कतिवद्ध भएको बताउनुभयो । “विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,” उहाँले भन्नुभयो ।


उहाँले जेनजी पुस्ताले नेपालमा व्याप्त चरम भ्रष्टाचार र बेतिथी विसंगतीविरुद्ध गरेको आन्दोलनको बलमा यो सरकार गठन भएकाले भ्रष्टाचार र सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
“निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन,” उहाँले भन्नुभयो, “नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।”
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाःको विषयमा थप खोज तथा अनुसन्धान आवश्यक भएको बताउनुभयो । उहाँले प्रतिष्ठानले विगत २५ वर्षदेखी निरन्तर गर्दै आइरहेको माल्यापर्ण कार्यक्रमको प्रशंसा पनि गर्नुभयो । उहाँले साख्वाःको प्रतिमालाई एकरुपकता राख्न नगरपालिकाले देशका विभिन्न स्थानमा प्रतिमा स्थापना गर्न निःशुल्क प्रदान गर्दै आइरहेको बताउनुभयो ।


उहाँले देश विषम परिस्थितीबाट गुज्रिरहेको बताउँदैं जेनजी आन्दोलनपछि देशमा केही अराकता पनि देखिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री सुशिला कार्कीले नेपालको संविधान र लोकतन्त्रको रक्षा गर्दै फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन राजनैतिक सहमतीको जुन प्रयासको थालनी गरेको छ, त्यसलाई जनताले नजिक नियालिरहेको बताउनुभयो ।


प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका प्रथम नगरप्रमुख मदनकृष्ण श्रेष्ठलगायतले साख्वाःको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल संवतको प्रचार प्रसारमा योगदान दिने दुई व्यक्तित्व र संस्थालाई सम्मान गर्नुका साथै शंखधर बुलेटिन विमोचन गरिएको थियो । साथै नगदेश साँस्कृतिक पुचद्धारा महाकाली प्याखँ र ताहाननी बाँसुरी खलःले साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।