भक्तपुर, कार्तिक २
भक्तपुरका नेवार समूदायले स्वन्ती नखः (तिहार)का पर्वहरु फरक फरक दिनमा मनाउने भएको छ । तिथि घटबढका कारण भक्तपुरका नेवार समूदायले तिहारका पर्वहरु फरक फरक दिनमा मनाउन लागिएको हो ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका पर्वहरुमा कार्तिक २ गते काग तिहार, कार्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मी पुजा, कार्तिक ४ गते गाई तिहार, कार्तिक ५ गते गोवर्धन पुजा, म्ह पुजा र नेपाल संवतको शुभारम्भ एवम् कार्तिक ६ गते किजा पुजा (भाईटिका) रहेको छ ।
तर मध्यपुर थिमि नगरपालिकाका नेवार समूदायले लक्ष्मी पुजा कार्तिक ४ गते मात्र मनाउने भएको छ । कार्तिक ४ गते साँझ सवा ६ बजेसम्म औंसी तिथि रहेकोले सो दिन मात्र लक्ष्मी पुजा गर्न लागिएको थिमि लाय्कूका नायो पमाः (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताउनुभयो ।
यस्तै मध्यपुर थिमि–७, नगदेशस्थित लायकू (दरबार)को आह्वानमा ३० असोजमा बसेको नगदेश लायकू दरबारका नायो पमाः, पमाः, नगदेशका सम्पुर्ण खलःका प्रतिनिधि, नेवा दे दबूका प्रतिनिधि, ज्यापू महागूठीका प्रतिनिधि तथा बुद्धिजिबीको बैठकले लक्ष्मी पुजा कार्तिक ४ गते गर्ने निर्णय गरेको हो ।
बैठकले कार्तिक २ गते काग तिहार, ३ गते कुकुर तिहार, ४ गते लक्ष्मीपूजा, ५ गते म्हपूजा, नेपाल संवत र ६ गते किजा पुजा (भाईटिका) गर्ने निर्णय गरेको नेवाः दे दबूका कृष्णबहादुर घजुले जानकारी दिनुभयो ।
यस्तै भक्तपुर नगरका नेवार समूदायले भने म्ह पुजा कार्तिक ४ गते गर्ने भएको छ भने किजा पुजा (भाईटिका) कार्तिक ५ गते गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत असोज २२ गते बसेको भक्तपुरको तलेजुका पुजारीहरू तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो । बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशीलगायत सहभागी थिए ।
भक्तपुरका नेवार समूदायमा कुनै चाडपर्व मनाउन तिथिमा अन्योल उत्पन्न भए तलेजु र लाय्कुको निर्णायानुसार गर्ने प्रचलन रहेको छ । सोही अनुसार यसवर्ष पनि तिथि घटबढका कारण तिहारका पर्व मनाउन अन्योल उत्पन्न भएपछि तलेजु र लाय्कूका पुजारी, ज्योतिषी र नायो पमाःहरुको बैठकले तिहारका पर्वहरु मनाउने दिन र समयका बारेमा निर्णय गरी सार्वजनिक गरेको हो ।