सुनीता तुलाधर,
मध्यपुर थिमि, कातिक २ गते।
“विहारमा आएर धर्मदेशना सुनेर आफूमा हुने राग, द्वेष र मोह कसरी हटाउने भनी सिकेर जीवनमा सोही अनुसारको अभ्यास गर्न सकेमा तृष्णारहित भई दुःखबाट मुक्त हुनेछ।”
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले गत बिहीबार मध्यपुर थिमिस्थित नगदेश बुद्ध विहारमा सम्पन्न भएको कथिन चीवर दानोत्सवको अवसरमा दिनुभएको यो गहन धर्मोपदेश हो। थेरवाद बुद्ध धर्मको अत्यन्त महत्त्वपूर्ण पर्वको रूपमा यो दानोत्सव भिक्षु धर्मरत्नले उक्त विहारमा विनयअनुकूल तीन महिना वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा बुद्ध धर्म सङ्घ जूम परिवारले आयोजना गरेको थियो।
कार्यक्रमको सुरुवात कथिन चीवरको शोभायात्राबाट भएको थियो । शोभायात्रामा बाजागाजाका साथ उपासक उपासिकाहरूले विहारबाट नगदेशको लायकुसम्म परिक्रमा गरेका थिए। शोभायात्रा विहारमा पुगेपछि भिक्षु धर्मगुप्त महास्थविरले उपस्थित उपासक उपासिकाहरूलाई पञ्चशील प्रदान गर्नुभयो। त्यसपछि भिक्षु तपस्सिधम्म महास्थविरको नेतृत्वमा बुद्धपूजा गरिएको थियो।
अनागारिका अनुपमा गुरुमाले आफ्नो मन्तव्यका क्रममा वि. सं. २०७८ सालमा स्थापना भएको बुद्ध धर्म सङ्घ जूम परिवारको दैनिक गतिविधिबारे जानकारी दिनुभयो। यस पुचःले दैनिक बिहान ५ बजेदेखि बुद्ध पूजा, परित्राण पाठ, ध्यान भावना, धर्मदेशना जस्ता धार्मिक गतिविधिहरू सञ्चालन गरिरहेको र वर्षको एक पटक कथिन चीवर दानोत्सव आयोजना गर्ने गरेको बताउनुभयो। उहाँले अन्य उपासक उपासिकाहरूलाई पनि पुचःमा आबद्ध हुन आह्वान गर्नुभयो।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेशलाई आत्मसात् गरी पुण्य साधन गरेमा जन्म, जरा, मरणबाट अलग्ग रहेको परम शान्ति प्राप्त हुने कुरा बताउनुभयो।
उहाँले कथिन दानको वाक्य वाचन गराउनुभएपछि दाता परिवारले सामूहिक रूपमा भिक्षु महासङ्घलाई चीवर दान गरेका थिए। सो लगत्तै, उहाँले अष्टपरिष्कार दानको वाक्य वाचन गराउनुभएपछि करिब २७० जना अष्टपरिष्कार दाताहरूले दान गरेका थिए।
उहाँले कथिन चीवर दानको सम्पूर्ण विधि पूरा भएपछि उहाँले कार्यक्रममा सहभागी सबै उपासक उपासिकाहरूलाई पुण्यानुमोदन गराउनुभयाे।
अन्तमा, विहारका अध्यक्ष कृष्ण कुमार प्रजापतिले यस कार्यक्रमका सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो।
थेरवाद बुद्ध धर्मको यो पर्व विश्वभर वर्षावास पूरा भएको उपलक्ष्यमा हर्ष उल्लासका साथ एक महिनासम्म मनाइन्छ।
जूम पुचःको सम्मान
कार्यक्रमको दोस्रो चरणमा जूम परिवारका ६० जना कथिन दाताहरूलाई सम्मान पत्र र विहारको तर्फबाट बुद्ध प्रतिमा रहेको फोटो फ्रेम प्रदान गरिएको थियो।
उहाँले जूम परिवारको धार्मिक गतिविधिको सरहाना गर्नुहुँदै कथिन दाताहरूले विहारका लागि आवश्यक राइस कुकर र रेफ्रिजेरेटर जस्ता विद्युतीय उपकरणहरू प्रदान गरेकोमा जूम परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।