नेपाल अपराजित र च्याम्पियनहुँदै विश्व कपमा छनोट

भक्तपुर, कार्तिक १
नेपाल अपराजित र च्याम्पियन हुँदैं एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भई सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसीसी टि–२० विश्वकपको लागि छनोट भएको छ ।
यो नेपालले जितेको आइसीसीद्वारा आयोजित प्रतियोगिता मध्ये अहिलेसम्मकै ठूलो उपाधि हो । सन् २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटलाई आयोजित इस्टर्न रिजन जितेको थियो ।
नेपाल छनोटको अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो । नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसीसी टि–२० विश्वकपका लागि छनोट भएको हो ।
सन् २०१३ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपका लागि यूएईमा ग्लोबल छनोट खेल्दा नेपाल तेस्रो हुँदै छनोट भएको थियो । त्यसको १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा काठमाडौंमा सम्पन्न एसिया छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो पटक विश्वकपमा पुग्न सफल भएको थियो ।
प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा शुक्रवार नेपाललाई उपाधि जित्न जित जरुरी थियो । ओमानमा समोआविरुद्ध खेल्न मैदानमा आएको नेपाल १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोट प्रतियोगितामा अपराजित मात्र होइन च्याम्पियन नै बनेको हो ।
यसपटक अपराजित रही विजेता बनेर नेपालले १० अंक जोडेको छ । ओमानको ८ र यूएईको ६ अंक रह्यो । नेपालले सामोआलाई पराजित गरेपछि ओमानलाई २ अंकले पछाडि पारेको हो । ९ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो । त्यसपछि सुपर सिक्समा यूएई, कतार, ओमान र समोआलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
२ सय १२ रनको लक्ष्य पाएको सामोआले ७ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र रोहितले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपालले अल एमेरात क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर–प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो । भुर्तेल १५ बल खेल्दै २ चौका र १ छक्कासहित १७ रन बनाएर आउट भए ।
प्लेयर अफ द म्याच आसिफले ६९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आसिफको यो उच्च स्कोर हो । उनले गत महिना शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाइ आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । रोहित ११ बल खेल्दै समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बलमा २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहे ।
यसैबीच आइसिसी टी–२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगेको नेपाली टोली तत्काल स्वदेश नर्फकने भएको छ ।
नेपाली टोली ओमानबाट युएई प्रस्थान गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई गएको हो । नेपाल, युएई र अमेरिकाबीच युएईको दुबईमा एकदिवसीय त्रिकोणात्मक सिरिजका खेल हुनेछ ।
सिरिज आगामी २६ अक्टोबरदेखि शुरु हुनेछ । अक्टोबर २६ मा नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
लिग–२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ । आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ । १२ अंक जोडेको सातौं स्थानमा रहदा युएई ६ अंकसहित आठौ स्थानमा छ ।