भक्तपुर, असोज २८
सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
ओमानमा सोमवार राती सम्पन्न खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १४२ रनमा सिमित बनेपछि नेपालले रोमाञ्चक जित दर्ता गरेको हो ।
जितसँगैं नेपालको ६ अंक भएको छ । समान अंक भएतापनि ओमान नेट रनरेटको आधारमा सुपर सिक्सको शिर्ष स्थानमा रहेको छ । यस जितसँगै नेपालको विश्वकप यात्रा लगभग पक्का भएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।
१३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो । सात ओभरमा कतारलाई जितका लागि ४३ रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो । तर, नेपालले जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गर्दै दुई अंक खोस्यो ।
अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो । त्यहीबेला कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए ।
सुरुआती दुई बल ‘डट’ फ्याकेका सन्दीपले तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गरिदिए। त्यसपछिका दुई बलमा कतारले दुई रन जोड्यो । अब अन्तिम बलमा कतारलाई सात रन आवश्यक हुँदा पनि पूरा गर्न सकेन ।
सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए । लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे ।
खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिँदा नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए
यसअघि मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित खेलमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । रोहितले ५८ रनको पारी खेले ।
रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रन बनाए । १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए ।
कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए ।
नेपालले अब बुधवार शीर्ष स्थानको ओमानसँग खेल्ने छ । उक्त खेलमा जित हासिल गरे नेपाल एक खेल अगावै विश्वकपमा स्थान पक्का गर्ने छ । नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार समोआसँग खेल्ने तालिका छ ।