उत्कृष्ट बलिङको सहायताले आइसीसी टि–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुवात

भक्तपुर, असोज २३
आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया तथा इएपी क्षेत्रको छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । ओमानमा बुधवार भएको छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी शुरुवात गरेको छ । जितसँगै नेपालको सुपर सिक्स प्रवेश बलियो भएको छ ।
जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भएपछि नेपाल ५८ रनले विजयी भएको हो । कुवेतका ओपनर क्लिन्टो आन्टोले सर्वाधिक २६ र यासिन पटेलले १९ रन बनाए ।


नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।
नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।


त्यसअघि ओमान क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्सन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित १५ बलमा ३ चौकासहित १६, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।


नेपालले १९ औं ओभरमा कुल २७ रन जोडेको थियो । गुल्सनले लगातार ३ छक्का र कुशल भुर्तेलले लगातार २ चौका नविनराजलाई हानेका थिए ।
कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले समान १ विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।