भक्तपुर नगरमा यसवर्षको तिहारमा कार्तिक ३ गते लक्ष्मी पुजा, ४ गते म्ह पुजा र ५ गते भाईटिका गर्ने निर्णय

भक्तपुर, असोज २२
भक्तपुर नगरपालिकामा यसवर्षको तिहार पर्वमा कार्तिक ३ गते लक्ष्मी पुजा, ४ गते म्ह पुजा र ५ गते किजा पुजा (भाई टिका) गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधवार बसेको भक्तपुरको तलेजुका पुजारीहरू तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो ।
पञ्चाङ्ग समितिले प्रकाशित पात्रोनुसार यसवर्षको तिहारमा कार्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मी पुजा, कार्तिक ४ गते औंसी र गाईतिहार, कार्तिक ५ गते म्ह पुजा, गोवर्धन पुजा र नेपाल संवत प्रारम्भ, कार्तिक ६ गते किजा पुजा अर्थात भाईटिका रहेको छ ।
बैठकमा तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कार्तिक २ गते आइतबार काग तिहार मनाउने, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार मनाउने र दिनको ३ः०० बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने निर्णय भएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
यसैगरी कार्तिक ४ गते मंगलबार दिनको ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हा पूजा गर्ने र कार्तिक ५ गते सांझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकोले किजा पूजा (भाई टिका) गर्ने निर्णय गरेको हो ।
भक्तपुर नगरमा कुनै पनि चाडपर्वको तिथिमिति घटबढ भई अन्योल उत्पन्न भएमा तलेजुका पुजारीहरु र ज्योतिषहरुको निर्णयानुसार गर्ने प्रचलन रहेको छ ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी र प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको थियो ।