थेरवाद कथिन दानोत्सव ललितपुरको बौद्धजन विहारबाट देशभर शुरु

सुनिता तुलाधर, ललितपुर, असोज २२
थेरवाद बुद्ध धर्मको अत्यन्त महत्वपूर्ण पर्व कथिन चीवर दानोत्सव देशभर शुरु भएको छ । भिक्षुहरूले वर्षातका तीन महिनासम्म कुनै एक विहारमा विनयपूर्वक वर्षावास पूरा गरेको उपलक्ष्यमा दाता उपासकउपासिकाहरूले भिक्षु सङ्घलाई चीवर दान गर्ने यो परम्परा कोजाग्रत पूर्णिमाको भोलिपल्ट (कौलागा पारुका दिन) देखि सुरु भई आगामी सकिमिला पूर्णिमासम्म एक महिना सञ्चालन हुन्छ ।
यही नियमानुसार, मंगलवार ललितपुरको सुनागुथि स्थित बौद्धजन विहारमा भव्य समारोहका बीच यस वर्षको प्रथम कथिन चीवर दान सम्पन्न भएको छ । विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले विनयपूर्वक तीन महिना वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा कथिन दाता गोपाल डङ्गोल र तरिमाया डङ्गोल परिवारले उक्त दानको आयोजना गर्नुभएको हो ।


शोभायात्रा र धर्मदेशना
कार्यक्रमको विशेष आकर्षणका रूपमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो । शोभायात्रा विहारमा पुगेपछि भिक्षु धर्मगुप्त महास्थविरले उपासक उपासिकाहरूलाई शील प्रदान गर्नु भएपछि औपचारिक कार्यक्रम शुरु गरिएको थियो ।
भिक्षु पञ्ञारतन महास्थविरले कथिन दानको महत्व र आनिशंस (फल)बारे व्याख्या गर्नुभयो । सुरुचि जातकमा उल्लेखित भगवान् बुद्धले दिनुभएको उपदेशको चर्चा गर्दै उहाँले वर्षावास बस्नुभएका भिक्षुलाई चतुप्रत्ययद्वारा सेवा गर्न सकेमा धेरै राम्रो फल दिने धर्मदेशना गर्नुभयो ।
कथिन दाता तरिमाया महर्जनले अरू दानभन्दा कथिन दानको धेरै ठूलो महत्व भएको र सबै परिवारजन तथा सम्पूर्ण सत्व प्राणीहरूको हितार्थ कथिन दान गरेको बताउनुभयो । उहाँले दान गरिरहँदामन एकदम हलुका र आनन्दको महशुस गरेको पनि उल्लेख गर्नुभयो ।


साहित्यिक महत्वः ‘अंगुत्तरनिकाय’को विमोचन
कथिन दानोत्सवको सोही अवसरमा एक महत्वपूर्ण साहित्यिक कार्यपनि सम्पन्न भएको छ । विहार प्रमुखभिक्षु धर्मगुप्त महास्थविरले वर्षावासको तीन महिनाभित्र सुत्तपिटक अन्तर्गतको अंगुत्तरनिकायलाई पालि भाषाबाट नेपालभाषामा अनुवाद गरेर तयार पार्नुभएको थियो । सोही अनूदित पुस्तकको भव्य विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा भिक्षु सुमेध महास्थविर, भिक्षु धर्मगुप्त महास्थविर र दाता उपासक धर्मराज लामाले संयुक्त रूपमा उक्त नेपालभाषामा प्रकाशित अंगुत्तरनिकायको विमोचन गर्नुभएको थियो । यो विमोचनले कार्यक्रमको महत्वलाई धार्मिक अनुष्ठानबाट ज्ञानको प्रसारणतर्फ पनि विस्तार गरेको छ ।


धार्मिक विधि, दान र समापन
भिक्षु सुमेध महास्थविरलेबुद्ध पूजा गराउनु भएपछि कार्यक्रम विधिवत् रूपमा अगाडि बढ्यो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनु भएपछि कथिन दाताहरूले सामूहिक रूपमा भिक्षु महासङ्घलाई चीवर दान गरेका थिए ।
उहाँले अष्ट परिष्कार दानको वाक्य पनि वाचन गराउनुभएको थियो । उक्त उत्सवमा ८४ जना अष्ट परिष्कारका दाताहरूले भिक्षु महासङ्घलाई श्रद्धापूर्वक दान अर्पण गरेका थिए । कार्यक्रममा उपस्थित अन्य उपासक उपासिकाहरूले पनि भिक्षु गण एवं अनागारिका गुरुमाहरूलाई विभिन्न दानप्रदान गरेका थिए ।
कथिन चीवर दानको सम्पूर्ण धार्मिक विधि पूरा भएपछि कार्यक्रमको अन्तमा विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले सहभागी सम्पूर्ण दाताहरूलाई पुण्यानुमोदन गराउनुभयो । बौद्ध धर्ममा भिक्षुहरूले वर्षावास पूरा गरेको उपलक्ष्यमा गरिने यो दानलाई सबैभन्दा ठूलो पुण्य कार्यका रूपमा लिइन्छ । यो कथिन दानोत्सव अब नेपालभरका थेरवाद विहारहरूमा आगामी एक महिनासम्म निरन्तर हुनेछ ।