राष्ट्रपति पौडेलको भक्तपुरस्थित नवदुर्गा देवगणको दर्शन स्थगित

भक्तपुर, असोज २१
राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा देवगणको दशर्नका लागि आउने कार्यक्रम स्थगित भएको छ । प्रत्येक वर्ष बडादशैंको समापन हुने दिन कोजाग्रत पुर्णिमाको दिन राष्ट्र प्रमुखले भक्तपुर नगरपालिका १० गछेंस्थित नवदुर्गा द्योछेंमा सवारी भई नवदुर्गा देवगणको दर्शन र पुजाआजा गर्ने प्रचलन छ ।
वि. सं. २०४५ सालपछि राष्ट्र प्रमुखले नवदुर्गा देवगणको दर्शन र पुजाआजा नगरेको यो दोस्रो पटक हो । यसअघि कोरोना महामारीका कारण २०७७ सालमा पहिलो पटक राष्ट्र प्रमुखले नवदुर्गा देवगणको दर्शन र पुजाआजा गरेको थिएन । त्यो बेला नवदुर्गाको देवगणको प्रसाद राष्ट्रपति कार्यालय पठाएको थियो ।
यो वर्ष सुरक्षाको कारण देखाएर राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन गर्ने कार्यक्रम स्थगित गरेको स्रोतले जानकारी दिए । विशेष गरी गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको प्रदर्शनले ल्याएको राजनीतिक परिवर्तन र जेन–जी पुस्ताको एक समूहले पुर्व प्रधानमन्त्री केपी शर्मा र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रहरी परिसर काठमाण्डौं जाहेरी दर्ताको माग गरी निवेदन दिएपछिको विकसित राजनीतिक र सुरक्षाको घटनाक्रमका बीच राष्ट्रपतिले भक्तपुर भ्रमण अन्तिम समयमा स्थगित गरेको स्रोतले बताए ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले राष्ट्रपतिको निर्धारित भ्रमण स्थगित भएको बताउनुभयो । उहाँले राष्ट्रपति कार्यालयले विशेष कारणले आउन नसक्ने भनी जानकारी पठाएको बताउँदैं अन्य कारण थाहा नभएको बताउनुभयो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेलको नवदुर्गा देवगणको दर्शन र पुजाआजा गर्ने कार्यक्रम स्थगित भएपनि राष्ट्रपतिको तर्फबाट नवदुर्गा देवगणलाई चढाईने पुजा र भेटी भने पठाएको जानकारी दिनुभयो ।
राष्ट्र प्रमुखले भक्तपुरको नवदुर्गा देवगणको दर्शन गरी पुजाआजा प्रचलन गर्ने वि. सं. २०४५ सालमा तत्कालिन राजा विरेन्द्रले चलाएका हुन । उनको निधनपछि राजा बनेका ज्ञानेन्द्र शाहले पनि यो परम्परालाई निरन्तरता दिएका थिए । वि. सं. २०६२÷०६३ को जनआन्दोलन पछि राजाको अधिकारी कटौती गरेर प्रधानमन्त्री र राष्ट्रप्रमुखको भूमिकामा रहेका स्व. गिरिजा प्रसाद कोइरालाले पनि यो प्रचलनलाई निरन्तरता दिएका थिए ।
त्यसैगरी गणतन्त्रको स्थापनापछि प्रथम राष्ट्रपति डा. रामवरण यादवले यो परम्परालाई पनि निरन्तरता दिनुभएको थियो भने तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितीमा तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनले समेत यसलाई निरन्तरता दिनुभएको थियो ।
यसअघि राष्ट्रति पौडेलको स्वागतका लागि नवदुर्गा देवगण व्यवस्थापन समितिले आवश्यक तयारी गरेको थियो । भक्तपुर नगरपालिकाको सहयोगमा गछेंस्थित नवदुर्गा द्योछें र सो वरीपरी सरसफाई समेत गरिएको थियो । साथै गछें क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै बिहानै देखी सेनाको एक टुकडी तैनाथ गरिएको थियो ।