लाङटाङ घुम्न जाने क्रममा बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुर ४ जनाको अवस्था अझै अज्ञात

भक्तपुर, असोज १९
लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरिक्षक राजु शाहले जानकारी दिनुभयो ।
बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटना जानकारी गराएर खोजी कार्यको लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
भक्तपुरका विभिन्न स्थानमा बस्ने युवाहरुको समूह रसुवाको लाङटाङ घुम्न गएका थिए । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिवार ४ जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो ।
टोलीका सदस्य रोज कर्माचार्यले प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षिया सकृति श्रेष्ठ, २१ वर्षिय किशन श्रेष्ठ र २६ वर्षिया सनिता श्रेष्ठ रहेका छन ।
सकृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । उनीहरु रामेछापबाट दधिकोटमा बसाई सराई गरेर बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो ।
यसअघि सकृति, किशन र सनिता मध्यपुर थिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुर थिमि शंखधरचोकबाट गाडि चढेकोले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।