अविरल वर्षाले भक्तपुरका विभिन्न स्थानमा पहिरो र डुवान

लक्ष्मी गारु, भक्तपुर, असोज १९
गत असोज १७ गते शुक्रवारदेखी परेको अविरल वर्षाले भक्तपुरको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन भने डुवान समेत परेको छ ।
वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक सागाँ सडक खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । शनिवार गएको पहिरो पन्छाई सडक खुलाउने प्रयास भईरहेको छ ।
सूर्यविनयक नगरपालिका–७ किवा चोक गुण्डुस्थित महादेव मन्दिर नजिकै रहेको सडक खण्ड वर्षाका कारणले पहिरो गए पश्चात् गुण्डु किवाचोक हुदै नयाँ थिमि चल्ने यातायातहरू पुर्ण रूपमा बन्द भएको छ ।
यसैगरी भक्तपुर नगरपालिकाको जगाती र राममन्दिर स्थित टुरिजम मार्केट क्षेत्रमा हनुमन्ते खोलाले आसपासका क्षेत्रमा डुवान गरेको छ ।


वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षती चाँगुनारायण नगरपालिका भित्र गरेको छ ।.चाँगुनारायण नगरपालिका–६, कमलबिनायक–खरिपाटी–नगरकोट सडक खण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँ लगायतको ठाउँहरुमा सडकको भित्ताहरुमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाईएको छ ।
यस्तै चाँगुनारायण नगरपालिका–९ र सूर्यबिनायक न.पा.–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बा मुनि सडकको भित्ताहरुमा स–साना पहिरो खसेको छ, तर सडक भने अबरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चाँगुनारायण नगरपालिका–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिवार साँझ ५ बजे पहिरो गएको छ । पहिरो गएपनि सडक भने एकतर्फी सञ्चालनमा रहेको छ ।


चाँगुनारायण नगरपालिका–६,बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरिएको छ ।
चाँगुनारायण–७, बागेश्वरीस्थित हेलपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनिकरण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षती भने भएको छैन ।
चाँगुनारायण नगरपालिका–१, चाँगुनारायण मा.बि. बाट नेक कलेज हुँदै मुलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले बैकल्पिक मार्गको रुपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मुलपानी जान सकिने व्यवस्था गरिएको छ ।


चाँगुनारायण नगरपालिका ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मुल साँघु खोलाको बहाबले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ ।
अविरल वर्षाले मध्यपुर थिमि नगरपालिकाको वडा नंं ४, ३ र १ भएर बग्ने हनुमन्ते खोलाले खोला किनारको तरकारी, धानबाली डुवानमा पारेको छ भने केही घर टहराका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
बाढी बढी जोखिम रहेको मध्यपुर थिमिका लोहकिन्थलीस्थित सुकुम्बासी बस्ती, राधेराधे, कौशलटार सागबारीको अवस्था सामान्य रहेको छ ।
वर्षाले प्रसिद्ध धार्मिकस्थल निलबाराही मन्दिर आसपास भरिएका माटो सामान्य बगाएपनि मुख्य मन्दिरलाई केहि असर नगरेको प्रशासनले जनाएको छ ।