रसुवाको लाङटाङ घुम्न गएका थिमि ३ र भक्तपुरका १ जनालाई खोल्साले बगायो (नाम र ठेगानासहित)

भक्तपुर, असोज १८

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा भक्तपुरको मध्यपुर थिमिका ३ र भक्तपुरका १ जना मानिस बेपत्ता भएका छन् । लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जनालाई खोल्साले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा उनीहरुलाई बाढीले बगाएको हो ।
बेपत्ता हुनेहरूमा भक्तपुर थिमि नगरपालिका बस्ने वर्ष अन्दाजी २०÷२५ वर्षकी संस्कृति श्रेष्ठ, वर्ष अन्दाजी २०÷२५ किशन श्रेष्ठ र वर्ष २०÷२५ वर्षकी संगिता श्रेष्ठ र भक्तपुर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ का रवि श्रेष्ठ रहेका छन् । उनीहरूसँगै घुम्न आएका रोज कर्माचार्यले सो घटनाको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरिक्षक राजु शाहले जानकारी दिनुभयो ।
भक्तपुरबाट १६ जनाको टोली घुम्न आएपनि ८÷८ जनाको दुई समूह रहेको प्र.नि. शाहले जानकारी दिनुभयो । त्यसमध्ये ८ जनाको टोली लाङटाङतर्फ जाने क्रममा बेरिङ खोल्साले ती ४ जनालाई बगाएको भन्ने खबर आएको उहाँले बताउनुभयो ।
घटनास्थल लाङटाङ प्रहरी चौकी र स्याप्रुबेसीं प्रहरी चौकीको बीच भागमा पर्ने भएकाले दुई वटै प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । ‘आर्मीको टोली पनि खोज तथा उद्धारका लागि हिँडी सकेको छ,’ उहाँले भन्नुभयो ।
रसुवाको लाङताङ क्षेत्रमा हिजोदेखी अरविरल वर्षा भइरहेको र खोला तथा खोल्सीहरुमा पानी बहाव पनि बढेको, ठाउँ ठाउँमा पहिरो पनि गइरहेकोले प्रहरीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।
(जि.प्र.का. रसुवाका सूचना अधिकारी प्र.नि. शाहसँगको कुराकानी पछि अपडेट गरिएको । संं.)