लक्ष्मी गारु, भक्तपुर, असोज १८
बडादशैंको ११ औं दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।
तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा निकालिएको हो ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गर्नुका साथै स्थानीय क्वालखु द्यः (बालकुमारी देवी)को परिसरमा भुईफसी अर्थात कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो ।
तत्कालिन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थिमि लाय्कुका पमा नायो (प्रधान नाईके) श्यामकाजी श्रेष्ठले बताउनुभयो ।
जात्राको क्रममा बडादसैंको महानवमीमा तलेजु भवानीलाई बली चढाएको खःम्ये (राँगा)को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईएको श्रेष्ठले जानकारी दिनुभयो ।
विशेषगरी यो जात्रामा नायो पमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।
जात्रामा खःम्येको टाउकोको साथमा हिकोँचा (रगत भरिएको घ्याम्पा) समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समूदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पुजा गरेर भेँडा बली दिएर भोज खाने परम्परा रहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
जात्राका अवसरमा बालकुमारीमा भुईफसी (कुभिण्डो) मार हानेर बली दिईन्छ । बली दिइएको भुईफसी प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । सोही विश्वासका कारण मार हानेको भुईफसी लिन स्थानीयको तछाडमछाड हुने गर्दछ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई ‘भुईफसी पालेगु जात्रा’ पनि भनिन्छ ।
मल्लकालिन समयमा तत्कालिन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा साँस्कृतिक जात्रा पर्वमा लाय्कु प्रमुखको उपस्थिती अनिवार्य मानिन्छ । लाय्कु प्रमुखलाई नायो पमाः र अन्य सहायकलाई पमाः भनिन्छ । लाय्कुको नायो पमाः नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल थिमि लायकुका नायो पमाःं श्यामकाजी श्रेष्ठ हुन् ।
थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारिया प्रशासकको रुपमा र कुटु÷प्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे ।