भक्तपुर, असोज १७
भक्तपुरको मध्यपुर थिमि–७ नगदेशमा बिहिवार राती ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात बडादशैंको दशौं दिन विजयदशमीको राती नगदेशको दरवार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्परा अनुसार बिहिवार राती जात्रा निकालिएको हो ।
नगदेशमा रहेको मल्लकालिन दरवारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुईफसी’ अर्थात ‘कुभिण्डो’ मार हान्ने भएकाले यो जात्रालाई ‘भुईफसी पालेग’ु जात्रा पनि भनिन्छ ।
दरवारबाट पमा नायो (प्रधान नाईके)को नेतृत्वमा मल्लकालिन सिपाहिको भेषमा जात्रालुहरु टाउकोमा फलामे टोपी, हातमा तरवार, खुँडा र ढाल बोकेर निस्केका थिए । ती सिपाहिहरुले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए ।
सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ ।
जात्रा सञ्चालनका लागि यसवर्ष मध्यपुर थिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतका जनप्रतिनिधिहरुले पनि सक्रिय सहभागिता जनाएका थिए ।