बडादशैंको नवौं दिन नेवार समूदायले मनाए स्याक्वट्याक्व

भक्तपुर, असोज १५
बडादशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पुजा आराधना गरी नेवार समूदायले स्वाक्वट्याक्व धुमधामले मनाएका छन । नेवार समूदायले महानवमीको अवसरमा आफ्ना इष्टदेवको पुजा गरी गच्चे अनुसार बली दिएर स्याक्वट्याक्वको मनाएका हुन ।
महानवमीको दिन बडादशैंको मुख्य दिन हो । यस दिन नेवार समूदायले काटमार गर्ने, आफ्ना काम गर्ने औजार, सवारीसाधन, ज्यावल, भिमसेनलगायतका देवी देवता र विशेषगरी माता दुर्गाको पुजा आराधना गर्ने र बली दिने गर्दछन ।
यस अवसरमा आज बिहानैदेखी भक्तपुरका विभिन्न धार्मिक तिर्थस्थल, शक्तिपिठ र टोलटोलका मठमन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । परम्परा अनुसार भक्तजनहरुले बली पुजा गरेका थिए ।
मध्यपुर थिमि–१, लोकन्थलीस्थित सिद्धिकाली मन्दिरमा बली पुजा गर्न व्यस्त न्हुँछेबहादुर प्रजापतिले आसुरी शक्ति माथि दैवी शक्तिको जितको प्रतिकको रुपमा रहेको बडादशैं अर्थात मोहनी नखःमा
महानवमीमा नेवार समूदायले विशेष खालको कालो टिका तयार गर्दछन । यही टिकालाई मोहनी भनिन्छ । दशैंमा तान्त्रिक विधिद्धारा पुजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ, त्यस दियो माथी सली घोप्टो पारेर राखिन्छ । सली माथी पुजा गरिन्छ । यसरी सलीको भित्रि भागमा दियोको धुवाँ जम्मा भएर मोहनी टिका तयार हुन्छ ।
आजै नेवार समूदायमा छुट्टीएर भिन्न बसेका दाजुभाई एक ठाउँमा भेला भएर सिउ भ्वय खाने प्रचलन छ । विशेष गरी परिवारका जेठो व्यक्तिको घरमा जम्मा भएर यो भोज आने परम्परा छ । कसै कसैको सबै दाजुभाईको घरमा पालैपालो गएर सिउ भ्वय खाने गर्दछन ।
नेवार समूदायमा आफ्ना इष्टदेवलाई बली दिएको पशुपन्छीको सिउ भ्वय खाने प्रचलन छ । भाले वा हाँस जस्ता पन्छी बली दिएको अवस्थामा टाउको, पखेटा र खुट्टालाई सिंगै पकाईन्छ र त्यही टाउको, पखेटा र खुट्टा परिवारका जेठो देखी क्रमैसँग सानो व्यक्तिलाई प्रदान गरेर खाने भोजलाई सिउ भ्वय भनिन्छ ।
यसैगरी बोका, च्यांग्रा जस्ता चौपाया बली दिएको छ भने टाउकोलाई आँखा, कान, नाक, बंगारा र जिब्रो गरी ८ भागमा बाँडेर जेठोदेखी क्रमैसँगै सानो व्यक्तिलाई प्रदान गरेर सिउ भ्वय खाईन्छ ।
सिउ भ्वयले दाजुभाईबीच एकताको सन्देश दिने संस्कृतिकर्मीहरुको भनाई छ । यो आफुभन्दा ठूलालाई आदर गर्ने परम्परा पनि हो ।