चाडपर्व सुरक्षा अन्तर्गत भक्तपुर प्रहरीको २७ क्यूआरटी टोली

भक्तपुर, असोज १४
जिल्ला प्रहरी परिसर भक्तपुरले चाडपर्व लक्षित सुरक्षा रणनीति सार्वजनिक गर्दै १० मिनेट भित्र प्रहरी घटनास्थल पुग्न सक्ने व्यवस्था गरेको छ । परिसरले मंगलवार सुरक्षा रणनीति सार्वजनिक गर्दै कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जनाएको हो ।
त्यसका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) टोली परिचालन गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।
प्रहरीको उपलब्ध जनशक्ति तथा स्रोत साधनलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाईएको बताउँदैं उहाँले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक वित्तिय संघसस्थाको सुरक्षाका लागि बेग्लै टोली खटाईएको जानकारी दिनुभयो ।
बडादशै, तिहार, तथा छठ पर्व लगायतका चाडपर्वको अवसरमा जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहलपहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, स्न्याचिङ, बगालीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई, ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत हुने विविध ठगी घटना हुनसक्ने भएकाले सोही अनुसार सुरक्षा रणनीति तयार गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अवैध रुपमा हुने मादक पदार्थ विक्रि वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न हालको परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको छ ।
यस्तै चाडपर्वको अवसरमा आमनागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम, प्रहरी गस्ती, एम्बुसिङ, चेकप्वाईन्ट, पिकेट, सरप्राईज चेकिङ्गको व्यवस्था गरिएको छ ।
अपराधिक गतिविधी गर्ने तथा कानूनको उल्लंघनका घटना भएमा तुरुन्त नजिकको प्रहरी इकाई वा प्रहरीको हटलाइन नम्बरहरु १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा खबर गर्न आग्रह समेत गरिएको छ ।