तान्त्रिक नाच नवदुर्गा देवगणको ‘ख्वापा’ तयार

लक्ष्मी गारु, भक्तपुर, असोज १२

भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ८० वर्षिय पुर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ वटा ख्वापा तयार गरेका हुन ।
तयार भएको ख्वापा महानवमीको साँझ प्रदर्शन गरि देवगण बन्ने गाथा (वनमाला)को समूहले परम्परागत पुजासहित लिन आउने परम्परा रहेको छ ।
प्रत्येक वर्ष नयाँ बनाउनु पर्ने ख्वापा तयार नभए भक्तपुरको मोहनी नखाः र नवदुर्गा नाच प्रभावित हुन्छ । विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त नगरे भक्तपुरको मोहनी नखाः अपुर्ण हुने र यसले भक्तपुर नगरका साथै उपत्यकाको विभिन्न स्थानको साँस्कृतिक जीवन समेत प्रभावित हुने संस्कृतिविदहरुको भनाई छ । ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ ।
यसरी बन्छ ख्वापा
नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’ भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ । सुकाएको माटोलाई धूलो पार्नेगरी कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ । मुछिएको माटोलाई डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाएर मकुण्डो बनाउन मिल्ने पुर्ण चित्रकार बताउनुभयो । “ख्वापा बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ । एउटा मुकुण्डो सुकाउन कम्तिमा दुई हप्ता लाग्छ,” उहाँले भन्नुभयो ।
ख्वापा बनाउन बोचासहित विभिन्न किसिमका ढुङगाबाट बनेको रङग, सुन, मैदा,मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामाग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार समेत पाउन मुस्किल रहेको चित्रकारले बताउनुभयो ।
तन्त्र प्रधान र गोप्य विधि
नवदुर्गा देवगणको नाच मात्र होईन यसको ख्वापा निर्माणदेखी सिद्ध प्राप्तीसम्मको कार्यमा समेत तान्त्रिक विधि विधान अनुरुप पुजा गरिन्छ । मुकुण्डो बनाउने माटो लिन साईत हेर्ने भएकाले माटोलाई समेत बाजागाजासहितको बनमाला टोलीले पुजा गर्नुपर्ने परम्परा रहेको चित्रकार पुर्णले जानकारी दिनुभयो ।
तन्त्र विद्या प्रधान नाच भएका कारण यसको ख्वापा निर्माण गरेको दृष्य जो कोहीले हेर्न नहुने परम्परा रहेको चित्रकार पुर्णले बताउनुभयो । ख्वापालाई अन्तिम रुप दिने क्रमका केही शिप अझै गोप्य रहेको र सो सिप आफुसँग मात्र रहेको उहाँले बताउनुभयो । उहाँलाई काका विष्णुबहादुर चित्रकारले गोप्य तरिकाले ती सिप सिकाएको हो । नवदुर्गाको ख्वापा बनाउने कार्यको गोपनियताका लागि केही वर्ष अघिसम्म सञ्चारकर्मीहरुलाई समेत तस्विर खिच्न मनाही थियो । “अचेल केही खुकुलो बनाउँदै लगेको छु । खास सिप आफुसँग राखेर अरु धेरै कुरा खुल्ला गरेको छु,” उहाँले भन्नुभयो । “धेरै गोप्य बनाउँदा ख्वापा बनाउने काम र यसको प्रयोग हुने जात्रा नै संकटमा पर्नसक्ने भएकाले केही खुकुलो बनाएको हुँ”
३० लाखको अक्षय कोष
नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यसवर्ष करिव ३ लाख खर्च भएको पुर्णले जानकारी दिनुभयो । ख्वापा तयार गर्न सबैभन्दा बढी कालिगढको ज्यालामा नै खर्च हुने गरेको र यसको रंगरोगनमा पनि उत्तिकै खर्च हुने गरेको उहाँले बताउनुभयो ।
खर्च व्यवस्थापनको लागि पुर्णले २०३६ सालदेखी अनेक समस्या झेल्दै आएको बताउँछन । उहाँका अनुसार २०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक ६ सय चार रुपैयाँ सहयोग गरेको थियो । त्यो रकम बढेर २०४५ सालमा ५ हजार, २०६८ सालदेखी १५ हजार दिन थालेको छ । केही वर्षदेखी संस्कृति मन्त्रालयले वार्षिक ५० हजार दिन थालेको छ । यो वर्ष दिएको छैन । नपुग अन्य रकम सहयोगी आफन्त साथीभाईसँग सहयोग लिनेगरेको उहाँले बताउनुभयो ।
ख्वापा निर्माणको खर्च जोहो गर्न अक्षय कोष समेत स्थापना गरिएको छ । कोषमा ३० लाख नगद जम्मा भइसकेको छ । नवदुर्गा नाचप्रति सद्भाव राख्ने समूहले श्री नवदुर्गा भवानी मुकुण्डो निर्माण अक्षयकोष व्यवस्थापन समिति गठन गरी बनेपा, धुलिखेल, पनौती, जयबागेश्वरीलगायतका क्षेत्रका बासिन्दा, विभिन्न नगरपालिका र स्थानीयको सहयोगमा ३० लाख नगद जम्मा भएको उहाँले बताउनुभयो ।
नवदुर्गा देवगण नाच तान्त्रिक विधिविधान मात्र नभएर मानविय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो । जसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरिन्छ । नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ ।
“विषेशतः यो नाचले मल्लकालिन समयको संयुक्त परिवारलाई इंगित गरेको छ,” ईतिहासविद एवम् संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो, “समाजमा घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यहरुलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निस्कासित गर्ने सम्मको भूमिका निभाइन्छ ।” नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश नवदुर्गा देवगण नाचले दिने गरेको प्रा. डा. श्रेष्ठको भनाई छ ।
मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छ । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः(महालक्ष्मी को प्रतिक) भनिन्छ । यो नाचमा देवगणले भैरव(कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीहरु समेत थप हुन्छ ।