भक्तपुर, असोज १२
मध्यपुर थिमि नगरपालिकाले बडादशैंको अवसरमा पापांकुश एकादशीको दिन नगदेशको ऐतिहासिक लाय्कुबाट निकालिने खाँ पिहाँवइगु जात्राको लागि आवश्यक सामग्री आइतवार सहयोग गरेको छ ।
खाँ पिहाँवइगु जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने भएकोले यस जात्रालाई भुईफसी पाल्यु जात्रा अर्थात कुभिण्डो काट्ने जात्रा पनि भनिन्छ । यो जात्रामा मल्लकालिन सेनाको पल्टनको झल्को दिने गरी परम्परागत पोशाकमा फलामको टोपी लगाई हातमा तलवार, खुँडा, खड्ग बोकी अर्को हातमा ढाल बोकेर युद्धमा जान लागेको सिपाही जस्तै निस्कने गर्दछ ।
नगदेशको खाँ पिहाँवइगु जात्रा लोप हुने अवस्थामा पुगेकोले नगरपालिकाको सहयोगमा गतवर्षदेखी पुनः सञ्चालनमा आएको हो । लामो समय सञ्चालन नहुँदा जात्राका सामग्रीहरु मक्किएर बिग्रिएकोले नयाँ सामग्री सहयोग गरेको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगदेश लाय्कुलाई नगरपालिकाले सेनाले लगाउने पित्तलको टोपी ८ वटा, पोंगा बाजा ४ वटा, ट्याम्पो २ वटा सहयोग गरेको नगदेश लाय्कुका दिनेश बादेले बताउनुभयो ।
नगदेश लाय्कुमा आयोजित कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बादे बैद्य, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्ष कृष्णकुमार प्रजापतिलगायतले उक्त सामग्री लाय्कुका नायो पमा (नाईके प्रधान)लगायतलाई हस्तान्तरण गर्नुभएको हो ।