भक्तपुर, असोज १२
नेपालले टेष्ट राष्ट्र वेष्टइण्डिजमाथि ऐतिहासिक जित निकालेको छ । संयुक्त अरव इमिरेट्स (युएई)को शारजहाँ स्टेडियममा शनिवार राती सम्पन्न युनिटि कपको टी–२० प्रतियोगिताको पहिलो खेलमा नेपालले वेष्टइण्डिजमाथि १९ रनको जित निकाल्दै ईतिहास रचेको हो ।
नेपालले आफ्नो क्रिकेट ईतिहासमा कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको यो पहिलो पटक हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनमा सिमित बनेको हो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
दोस्रो ओभरको दोस्रो बलमै कुशल भुर्तेलको डाइरेक्ट थ्रोमा ओपनर काइल मेयर्स ५ रनमै रन आउट भएका थिए । त्यसपछि नन्दन यादवको पाँचौं ओभरको अन्तिम बलमा कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए ।
जवेल एन्ड्यु ५, केसी कार्टी १६ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६.३ ओभरमा ९४(७ को दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेनले इनिङ उकास्दै जितको आशा जगाएका थिए ।
अन्तिम १८ बलमा ४९ रन चाहिँदा नेपालले १८ औं ओभरमा १९ रन खर्चेका थिए । त्यसपछि १२ बलमा वेष्टइण्डिजलाई ३० रन चाहिँदा करण केसी बलिङमा आएका थिए । करणले उत्कृष्ट बलिङका साथ मात्रै २ रन दिएपछि नेपाल ऐतिहासिक जितको नजिक पुगेको थियो ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेललाई ६ र आसिप शेखलाई ३ रनमा गुमाउँदा एक समय ३.१ ओभरमा १२÷२ को अवस्थामा पुगेको थियो । कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै नेपाललाई तेस्रो विकेटमा राम्रो योगफलको आधार देखाएका थिए । तर त्यसपछि नेपालका कुनै व्याटरले ठूलो इनिङ खेल्न नसक्दा बलियो योगफल बनाउन चुकेका थियो ।
कुशल मल्ल स्पिनर नविन बिडैसीलाई ठूलो सट खेल्ने धुनमा लङअनमा जेसन होल्डबाट क्याच आउट भए । उनले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।
नविनलाई नै १३ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका रोहित डीपमिडविकेटमा क्याच आउट हुन पुगेका थिए । ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बटुले ।
गुलशन झाले नेपाललाई राम्रो अन्त्यको सम्भावना देखाएका थिए । तर नविनलाई नै १७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेल्दा केसी कार्टीबाट तेस्रो प्रयासमा लङअफमा क्याच आउट भए । गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।
वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।
यसैबीच नेपालका कप्तान रोहित पौडेल खेलको प्लेयर अफ दि म्याच प्रदान गरिएको छ । प्लेयर अफ दी म्याचको अवार्ड जितेपछि रोहितले अवार्ड जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहिदलाई समर्पण गरे ।
उनले पछिल्लो महिना नेपालको लागि निकै कठिन समय रहेको स्मरण गर्दै बिस्तारै पुरानो शैलीमा आउँदै गरेको र केहि खुसी दिन सकेको पनि बताए । उनले जितमा टिमले राम्रो प्रदर्शन गरेको भन्दै करण केसी र सोमपालको अनुभव अनि स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले कुशल भुर्तेलको पनि तारिफ गरे ।