दिक्षा गौरी हाडा स्मृति गीत सार्वजनिक

भक्तपुर, असोज ८
दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत ‘न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु’ भक्तपुरमा लोकार्पण गरिएको छ । दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठानले क्यान्सरका कारण असामयिक निधन भएकी दिक्षा गौरी हाडाको सम्झना स्वरुप सो गीत र त्यसको भिडियो लोकार्पण गरेको हो ।
हाडा ब्रदर्सको प्रस्तुतीमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दिक्षा (गौरी) स्मृति गीतको लोकार्पण गर्नुभएको हो । गायक तथा प्रतिष्ठानका सचिव लक्ष्मण पलिखेलको शब्द, रवि हाडाको स्वर रहेको गीतमा संगीत राजेश हाडा (दिक्षाका पिता)ले दिनुभएको छ ।
बाँसुरीमा नरेन्द्र राई र सरोदमा पण्डित सुदर्शनराज राजोपाध्यायको वादन युक्त यो गितलाई संगीत संयोजन गोपाल रसाइलीले गर्नुभएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जङ्गम, वरिष्ठ गीतकार सुबासचन्द्र ढुङ्गेल, चर्चित संगीतकार राजु सिंह लगायतले गीतको समिक्षा गर्नुभएको थियो ।
साथै सो कार्यक्रममा शारीरिक रुपमा अशक्त भएर पनि खुट्टाको सहायताले आफ्नो जिवनशैली लेखेर पुस्तक प्रकाशन गर्नुभएकी प्रिता बल्ललाई सम्मान पनि गरिएको थियो । प्रिता शारीरिक अशक्तताले ह्विल चियरमा हिड्न बाध्य भएपनि उहाँले स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । अनुशिलन नेपालद्वारा प्रकाशित प्रिताको ‘अविचलित पाइला’ नामक पुस्तकको ५० प्रति दीक्षा हाडा स्मृति प्रतिष्ठानले खरिद गरि कार्यक्रममा वितरण गरिएको थियो ।
प्रतिष्ठानले यसरी सामाजिक कार्य अन्तर्गत क्यान्सर रोगीको उपचार, वृद्धाश्रम तथा असहाय बालबालिका एवं संघ सस्थाहरुलाइ आर्थिक र भौतिक सहयोग गर्दै आएको छ । प्रतिष्ठानले यहि असोज ११ गते इताछेस्थित परिसरमै विहान ८ बजे देखि ११ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना पनि गर्ने भएकोले रक्तदाताहरुलाइ सहभागी हुन आह्वान गरेको छ ।
दिक्षालाई २०७२ साल असारमा क्यान्सर लागेको थियो । चार वर्ष यो रोगसङ्ग लड्दै २०७५ साल चैत १२ गते उनले देहावसान भएको थियो ।