भक्तपुरको शुभकामना साकोसले ९ प्रतिशत लाभांश वितरण गर्ने

भक्तपुर, असोज ५
भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयर सदस्यहरुलाई ९ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ । शुभकामनाको शनिवार सम्पन्न २५ औं साधारण सभामा सो जानकारी दिएको हो ।
सभामा संस्थाका अध्यक्ष राम प्रसाद कासुलाले मुलुकमा आएको आर्थिक मन्दी र केहि सहकारी संस्थाले सदस्यको वचत फिर्ता नगर्दा समाजमा सहकारीप्रति गलत दृष्टिकोण बनेको बताउनुभयो । यस्तो अवस्थामा समेत शुभकामनाले भने समाजमा छुट्टै पहिचान बनाई सदस्यहरुलाई सेवा प्रदान गदै आएको उहाँको भनाई छ । उहाँले सदस्यहरुको विश्वास, सञ्चालक समिति, विभिन्न उप समिति र कर्मचारीहरुको सक्रिय भूमिकाका कारण संस्थाले दिन प्रतिदिन उत्कृष्टता हासिल गर्न सफल भएको बताउनुभयो ।
‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित सदस्यहरुको वचतको सुरक्षाको प्रत्याभूति गराउँदै सदस्य केन्द्रीत विभिन्न कार्यक्रम सञ्चालन गर्नु नै शुभकामनाको सफलताको कडी भएको उहाँले बताउनुभयो ।
उहाँले संस्थाले सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरताको कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको र वित्तीय साक्षरतामार्फत् संस्थाको सेवाको बारेमा जानकारी दिँदै आएको बताउनुभयो ।
आर्थिक मन्दीले ऋण लगानी र असुलीमा समेत समस्या भइराखेको अवस्थामा गत वर्षको खुद वचतबाट सदस्यलाई ९ प्रतिशत लाभांश दिन सक्नु संस्थाको सफलता भएको उहाँको भनाई छ ।
संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आ.व.मा घरदैलो कार्यक्रम, शिक्षा शिविर, बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम, बाँसुरी बाजा प्रशिक्षण, रक्तदानलगायतका सामाजिक कार्य गरेको जानकारी गराउनुभयो ।
साधारण सभामा कोषाध्यक्ष धर्मरत्न खाईतुले आर्थिक वर्ष २०८१÷०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ११ लाख ६१ हजार, जगेडा तथा अन्य कोष १९ करोड २५ लाख, बचत संकलन १ अर्ब ४० करोड ९८ लाख, ऋण लगानी १ अर्ब ५ करोड ८९ लाख पुगेको जानकारी दिनुभयो ।
गत आ.व.मा संस्थाको कुल सम्पत्ति १७.२९ प्रतिशतले बृद्धि भई १ अर्ब ८१ करोड ४५ लाख पुगेको उहाँले बताउनुभयो । संस्थामा ११ हजार सदस्य आवद्ध रहेका छन् । संस्थाले २०६५ सालदेखि सदस्यको हितलाई ध्यानमा राखी मृतक राहत कार्यक्रम समेत सञ्चालन गरेको उहाँले बताउनुभयो । संस्थाले उमेर समुह अनुसार सदस्यहरुलाई लक्षित गरी १८ वटा बचतको प्रकार सञ्चालनमा ल्याएको छ भने व्यापारिक, आवास, शैक्षिक, कृषि, हायर पर्चेच, घर जग्गा खरिद, लघु र व्यवसायिक कर्जा लगानी गर्दै आएको छ ।
शुभकामनाले २५ औं साधारण सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाले कक्षा ८, एसईई, पल्स टु र स्नात्तकोतरसम्म अध्ययन गर्ने विधार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट वचतकर्ता असल ऋणी, जेष्ठ र सदस्यलाई समेत सम्मान तथा पोषिलो खानेकुरा प्रदान गरेको थियो ।