भक्तपुर, भदौ २७
जेनजी आन्दोलनको दौरान भक्तपुरमा प्रहरीका ४१ वटा युनिटमा क्षती पुगेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले आगजनी, तोडफोड गर्दा भक्तपुरको प्रहरी वृत्त जगाती, वृत्त थिमि, प्रहरी प्रभाग बालकोट, सानोथिमिलगायतका ठूला भवनका साथै प्रहरीका अरनिको राजमार्गमा रहेका विभिन्न प्रहरी बिट समेत गरी ४१ वटामा पूर्ण र आंशिक क्षती भएको हो ।
जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवीको भवन पूर्ण रूपमा नष्ट भएको छ । यस भवनमा कारबाहीका लागि ल्याइएको १०० भन्दा बढी सवारीसाधन पूर्ण रूपमा जलाएको जानकारी दिँदै परिसर प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले करिब १० वटा मोटरसाइकल १६ बोरा चामल, खाद्यान्न, ट्राफिक प्रहरीको पोशाक, मोबाइललगायत सामग्री आन्दोलनमा आउनेहरूले लुटेर लगेको जानकारी दिनुभयो ।
स्रोतका अनुसार भक्तपुरमा प्रहरीको वृत्त थिमि र जगातीमा रहेका सबै थुनुवा समेत फरार भएका छन । साथै सानोथिमिस्थित बालसुधार गृहमा रहेका बालबिज्याईकर्ताहरु समेत फरार भएको स्रोतले बताए । यद्यपी बालसुधार गृहका केही बालबिज्याईंकर्ताहरु भने सम्पर्कमा आएको बताईएको छ ।
आन्दोलनका क्रममा भक्तपुरका स्थानीय तह मध्ये मध्यपुर थिमि नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको छ । सरकारी निकायहरुमा सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको आगजनीबाट मुद्दा फाँट, नागरिकता र राष्ट्रिय परिचयपत्र शाखाका क्षती पुगेको छ । स्रोतका अनुसार मुद्दा, नागरिकता लगायतका पुराना अभिलेख जलेर नष्ट भएका छन ।
यस्तै सडक डिभिजन कार्यालयका सवारीसाधनमा आगजनी भएको छ । जिसस कार्यालयमा कति क्षती भयो भन्ने बारे एकिन भएको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालय तोडफोड गरिएको छ । मध्यपुर थिमि राधेराधेस्थित स्थानीय विकास श्रेष्ठको घरमा भाडामा रहेको यातायात व्यवस्था कार्यालय तोडफोड गरी जलाइएको छ । आन्दोलनकारीले गाडी र मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाएपछि कार्यालयको सटर फोडर भित्र तीन तलासम्मका सबै सामान बाहिर निकालेर तोडफोड गरी आगो लगाउँदा सम्पूर्ण सामानदेखि कार्यालय भवन खण्डहरमा परिणत भएको छ ।
स्थानीय तह मध्ये मध्यपुर थिमि नगरपालिकाको केही सवारीसधान र भवनमा क्षती पुगेको छ । आन्दोलनकारीले आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चाको वडा कार्यालय भवन पूर्ण रूपमा क्षति भई खण्डहर बनेको छ । आन्दोलनमा उत्रिएको टोलीले गुण्डुस्थित वडा कार्यालयको भवनसमेत जलाएर खरानी बनाएका छन् ।
सूर्यविनायक नगरपालिकाको कार्यालय भवन तोडफोड गरिएको छ भने भवन आगो लगाउने प्रयास गरेपछि नगर प्रहरी र स्थानीयले प्रतिकारमा उत्रिएपछि आन्दोलनकारी भागेर गएको स्थानीयले बताएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुमा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाको गुण्डुस्थित घरमा तोडफोड र आगजनी हुँदा घर पूर्णरुपमा क्षती भएको छ । त्यसैगरी वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीको घर तोडफोड गरेका छन भने एक मोटरसाइकल जलाएका छन् ।
आन्दोलनकै क्रममा तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित निवास खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीहरुले आगजनी गर्दा ओलीको घर खण्डहरुमा परिणत भएको हो ।
एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतको गुण्डुस्थित घर पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले लगाइदिएको आगोले तीनतले घर पूरै जलेर खण्डहरमा परिणत भएको हो ।
यस्तै नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् पुर्वमन्त्रीद्धय गोकुल बास्कोटा र आनन्दप्रसाद पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य एवम् भोजपुरका सांसद अम्बरबहादुर रायमाझीको मध्यपुर थिमि १, लोहकिल्थलीस्थित घर पनि आन्दोलनकारीले आगो लगाउँदा जलेर पूर्ण क्षती भएको छ ।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरको सूनपा–८ सिपाडोलमा रहेको घर तोडफोड गरेका छन् । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाकी छोरी सुमित्रा थापाको सूर्यविनायक दार्जिलिङ हाइटमा रहेको घर पनि आन्दोलनकारीले तोडफोड गरी जलाएर पूर्ण क्षति पुर्याएका छन् ।
गण्डुस्थित वडा कार्यालयमा आगजनी गर्दा कार्यालयमा पार्किङ गरिराखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक एवं सांसद सन्तोष परियार चढ्ने सरकारी गाडी र जिल्ला समन्वय समितिको गाडीलगायत अन्य सवारीसाधन पूर्ण रूपमा जलेको छ । मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठको घरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् ।
यसैगरी भक्तपुर दरवारस्क्वायरस्थित जिल्ला स्काउटको भवनमा समेत प्रदर्शनकारीहरुले आगजनी गरेका छन । दरवारस्क्वायरमा नै रहेको भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको पर्यटक शौचालयमा पनि आगजनी भएको छ ।
प्रदर्शनकारीहरुले भक्तपुरको व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी गरेका छन । यसक्रममा राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ ।