भक्तपुरमा पनि कर्फ्यु

भक्तपुर, भदौ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गर्नुभएको आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम भक्तपुरको मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाका तोकिएको स्थानमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको जनाएको हो ।
प्रजिअ घिमिरेले जडीबुटी मनोहरा पुल, राधेराधे, बालकोट निकोसेरा, पेप्सीकोला क्षेत्र, जडिबुटी मनोहरा पुलदेखी अरनिको राजमार्ग साँगासम्म (२०० मिटर वरपर), पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म, कौशल्टारदेखि बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश गरेको हो ।
यसैगरी राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म), दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म कर्फ्यु आदेश गरेको हो ।