निलबाराहीको पहिलो नियन्त्रण सम्बन्धी योजना कार्यान्वयन हुनुपर्नेमा जोड


भक्तपुर, भदौ १८
मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ९ स्थित निलबाराही मन्दिरको पुर्व र पश्चिम तर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि प्रस्तावित योजना छिटो भन्दा छिटो कार्यान्वयन हुनुपर्ने स्थानीय सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले योजना कार्यान्वयन पारदर्शी, गुणस्तरीय, दिगो र दिर्घकालिन हुनुपर्नेमा समेत जोड दिएका छन ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ९ कार्यालयले बुधवार आयोजना गरेको निलबाराही मन्दिरको पुर्व र पश्चिम तर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि प्रस्तावित योजनाको थ्री डि नक्सा सहितको डिजाइन स्थानीय बासिन्दा, सरोकार समिति र सरोकारवालाहरु समक्ष प्रस्तुत गरेको कार्यक्रममा सहभागीहरुले योजना कार्यान्वयनका क्रममा निगरानीका लागि स्थानीय बासिन्दासहितको अनुगमन समिति गठन गर्न समेत सुझाव दिएका थिए ।


कार्यक्रममा नगरपालिकाले काठमाण्डौ उपत्यका विकास प्राधिकरण (केभिडिए)को सहकार्यमा निलबारही क्षेत्रमा नयाँ प्रविधि अनुसार दीर्घकालीन रुपमा पहिरो रोकथामको थ्री डि नक्सा सहितको योजना प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा स्थानियसँग आफ्नो धारणा राख्नुहुँदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठ जनताले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा निलबाराहीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ५० औं वर्षदेखी भू–क्षय गइरहेको निलबाराहीमा विगतमा जतिपनि काम भयो त्यसले दिर्घकालिन समाधान दिन नसकेकोले निरबाराहीको डिपिआर निर्माण गरी कार्यअघि बढाएको बताउनुभयो ।
उहाँले निलबाराहीमा सञ्चालन भइरहेको श्रमदानमा आवश्यक माटो ल्याउन सम्बन्धित निकायमा आवश्यक समन्वय गरेको बताउँदैं अहिले जसरी माटो रोकिएको छ, आवश्यक परे माटो नगरपालिकाले किनेर भएपनि ल्याउन तयार भएको बताउनुभयो ।
“माटो कसैले राजनीतिलाई दाऊमा राखेर आएको छ । कसैले आफ्नो पदलाई दाऊमा राखेर आएको छ । अब आवश्यक परे माटो किनेर भएपनि ल्याइन्छ । नगरपालिकाको आन्तरिक स्रोतबाट माटो किनेर ल्याइन्छ,” उहाँले भन्नुभयो ।
उहाँले श्रमदानमा प्रयोग भएको माटो जोगाउन पनि दिर्घकालिन योजना आवश्यक भएको बताउनुभयो । उहाँले एक सावेल माटो राख्नेदेखी दैनिकरुपमा श्रमदान गर्ने सबैको सम्मान हुनुपर्ने र नगरपालिका ती तमाम श्रमदाताको सम्मान गर्दै अघि बढ्न चाहेको बताउनुभयो ।

छलफलमा सो योजना तयार गर्न प्राविधिक रुपमा सहयोग गर्नुहुने इन्जिनियर दिलिप गसिले निलबाराही क्षेत्र जोगाउन तयार गरिएको योजनाबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले आफुहरु निर्वाचित भएर आएदेखिनै निलबाराही क्षेत्र संरक्षणको विषयलाई निकै प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

छलफलमा सहभागी अधिकांशले एक आपसमा सहकार्य गरी योजना छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय रमेश राजबहाकले विगतमा विगतमा निलबाराहीमा सञ्चालन भएका योजनाले त्यहाँको मौलिक र पुरातात्विक महत्वमा शिलालेखहरु समेत गायव पारेकोले विकासका नाममा विनास गर्न नहुने धारणा राख्नुभयो ।


निलबाराही संरक्षण तथा सरोकार समितिका अध्यक्ष दिलकृष्ण राजबहाकले विगतमा आर्थिक वर्ष अन्त्यमा बजेट आउने, आएको बजेट पुरा सदुपयोग नहुने, भएका काम पनि गुणस्तरीय नहुने समस्या भएको बताउँदैं अबको योजना निरन्तर सञ्चालन हुनुपर्ने, बजेटको अभाव देखाउँदैं बीचमा योजना छाड्न नहुने र योजना दिगो र दिर्घकालिन हुनुपर्नेमा जोड दिनुभयो ।


सरोकार समितिका सचिव अनिश वैद्यले समितिले निलबाराहीको संरक्षणका लागि कसैलाई पनि काम गर्न रोक नलगाएको स्पष्ट पार्नुभयो । उहाँले निलबाराही क्षेत्र धार्मिक र साँस्कृतिक क्षेत्र भएकाले त्यहाँ काम गर्दा स्थानीयसँग समन्वय हुनुपर्ने, योजना वातावरणमैत्री, पुरातत्व विभागबाट स्विकृत हुनुपर्ने लगायतका सुझाव दिनुभयो ।
सरोकार समितिका कानूनी सल्लाहकार अधिवक्ता आरके सुवालले सिमेन्टको आयु ५० वर्षको मात्र हुनेले सिमेन्ट भन्दा पनि कुनै उपयुक्त प्रविधि भए उक्त प्रविधि प्रयोग गर्न सुझाव दिनुभयो ।


मध्यपुर थिमि–५ का दिलकृष्ण प्रजापतिले निलबाराहीमा श्रमदान गर्ने श्रमदाता, सरोकार समितिको योगदान सबैको सम्मान गर्दै नगरपालिकाले ल्याएको योजना कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने, निलबाराहीमा राजनीति गर्न नहुने धारणा राख्नुभयो ।
नवरत्न वल्र्ड स्कुलका संस्थापक प्रिन्सिपल एवम् प्याव्सन भक्तपुरका पुर्वअध्यक्ष सुरेन्द्र तुँबञ्जा श्रेष्ठले आएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबहाकले निलबाराही क्षेत्रको ७ रोपनी अतिक्रमित जग्गा फिर्ता ल्याएको र अरु पनि जग्गा छानविन गरी संरक्षण गर्न तयार रहेको बताउनुभयो ।


निलबाराहीको पहिरो नियन्त्रण योजनाको लागि केभिडिए मार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँको बजेट विनियोजन भई ६ करोड ६० लाख ४७ हजार ७ सय ७ रुपैंयामा सम्झौता र कार्यदेश भइसकेको छ ।
निलबाराहीमा चक्रपथसहितको पहिरो नियन्त्रणका लागि आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रीय सरकारको समपूरक अनुदानमार्फत प्राप्त ९ करोड ७६ लाख ३२ हजार एक सय ८८ रुपैंया बजेटमध्ये पहिलो किस्ताको १ करोड ६० लाख रुपैयाँबाट निलवाराही प्रवेशद्वारदेखि सरस्वती खेल उकालोसम्मको कार्य सम्पन्न भएको छ ।


आ.व. २०८१÷०८२ मा दोस्रो किस्ता अन्तर्गतको ३ करोड बजेट मध्ये निर्माण व्यवसायीसँग सम्झौता भई २ करोड ८२ लाख ९२ हजार १६८ को कार्यादेश बमोजिम १० प्रतिशत रकम निर्माण व्यवसायीलाई मोविलाइजेसन पेश्की उपलब्ध गराईएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि केन्द्र सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैयाँलाई ३० प्रतिशत मानी नगरपालिकाको आन्तरिक स्रोतबाट थप ७० प्रतिशत (५ करोड ८३ लाख ३३ हजार सहित) कुल ८ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेटबाट पहिरो नियन्त्रणको कार्य अघि बढाउने चरणमा छ ।


आर्थिक वर्ष २०८२÷८३ का लागि केन्द्र सरकारबाट सडक निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । निलबाराही क्षेत्रमा वर्षातको समयमा ठूलो मात्रामा वालुवा, माटो बग्ने स्थानमा रोकथामका लागि सानुवनदेखि दुवाकोट मोडसम्म ढुङ्गाको पर्खाल निर्माण कार्य भएको छ । यसका साथै निलवाराही जङ्गलको पश्चिम भागमा अतिक्रमण भएका करिव ४ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको छ । यस्तै निलबाराही मन्दिरको उत्तर पश्चिम क्षेत्रमा करिब २ रोपनी १४ आना सार्वजनिक जमिनमा पर्खाल लगाई संरक्षण गरिएको छ ।
अब करिब ९ करोड ४३ लाख रुपैयाँको लागतमा केभिडिए र मध्यपुर थिमि नगरपालिकाले संयुक्तरूपमा काम सुरु गर्नेछन् । थिमि नगरपालिकाले अबको दुई वर्षभित्र करिब २० करोड रुपैयाँ खर्च गरेर निलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना तयार गरेको छ ।