देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न विदेशिए – सांसद थापा

भक्तपुर, भदौ १८
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेको बताउनुभएको छ । उहाँले देशमा केही भएन भन्नू भ्रम र आरोप मात्र भएको बताउनुभयो ।
विश्व सम्पदामा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा मंगलवार आयोजित ‘हामी उभिएको धरातलमा आज साहसिलो पाइला चालौं’ बोलको राष्ट्रप्रेम र प्रेरणा भावयुक्त गीति–भिडियोको शुभमुहुर्त समारोहमा सांस्द थापाले भन्न्ुभयो, “शिक्षाको अवसर छैन भनेर बिदेशिनु बहाना मात्र बनेको छ, हामी नयाँ दासको रुपमा आफैं बाँधिन गएका छौं ।”
उहाँले पहिले डाक्टर पढ्न सर्वसाधारण जनताको छोराछोरीलाई कोटा नहुने अवस्थाको अहिले अन्त्य भएको र इन्जिनियरिङ कलेजमा भर्ना नपाइने अवस्था अहिले नभएको बताउँदैं नेपालमा नै शिक्षाको लागि अवसर भएको बताउनुभयो ।
स्वास्थ्य, भौतिक पूर्वाधार र सम्पदा संरक्षणमा पनि पहिले भन्दा अहिले उल्लेखनीय प्रगति भएको उहाँको दावी छ । “पञ्चायतकालमा हाम्रै चाँगुनारायण जस्ता सम्पदाहरु भग्नावशेष मात्र थिए,” उहाँले भन्नुभयो, “अस्पतालहरु नगन्य थिए । बाटाघाटा पनि थिएनन् तर, अहिले परिणाम हाम्रो सामुन्ने छ ।”
संंसारमा भ्रष्टाचार सबै देशमा हुने जिकिर गर्दै उहाँले लोभी र पापी हुञ्जेल भ्रष्टाचार हुने तर, त्यसलाई नियन्त्रण गर्न सकिने सकारात्मक सन्देश दिनुको साटो अतिरञ्जित गर्दै सक्कियो, बिग्रीयो भन्ने भाष्य बनाएर युवा पुस्तालाई हतोत्साहित बनाउन खोजिएको आरोप लगाउनुभयो ।
देशलाई गाली गरेर देशभक्त देखिने ट्रेन्डलाई तोड्न उहाँले गीतसंगीत र साहित्यमार्फत सकारात्मक सन्देश फैलाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण मन्दिर विश्वसम्पदा सूचीमा सुचिकृत पुरानो मन्दिर भएपनि पर्याप्त चर्चा पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले आगामी दिनमा यसको प्रचारप्रसारमा विशेष ध्यान पुर्याइने प्रतिवद्धता प्रकट गर्नुका साथै स्थानीय र सरोकारवालासँगको सहकार्यमा नगरपालिकाले संरक्षणको योजनाहरु अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा स्थानीय समेत रहेका बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेल र चाँगुनारायण मन्दिरका मूल पुरोहित एवं ब्यवस्थापन समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायण मन्दिरको ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा हामी उभिएको धरातलका गायक एवं संगीतकार सुनिल उप्रेती, गायिका निशा देसार, कलाकार रश्मि भट्ट, निर्देशक सुचित्रा श्रेष्ठ लगायतले राष्ट्रप्रेमको भाव बोकेको गीतलाई उपत्यकाको ऐतिहासिक स्थलहरुमा छायांकन गरी त्यस क्षेत्रको प्रचारप्रसार योगदान गर्ने लक्ष्य लिइएको जानकारी गराउनुभयो ।