मेलमिलाप सम्बन्धी ५ दिने एड्भान्स तालिम शुरु

भक्तपुर, भदौ १७
भक्तपुर बार एशोसियसनको आयोजनामा सोमवारदेखी मेलमिलाप सम्बन्धी ५ दिने एड्भान्स तालिम शुरु भएको छ । भक्तपुर जिल्ला अदालतको सभा हलमा शुरु भएको तालिमको एक समारोहका बीच न्याय परिषदका सदस्य माननीय दामोदर खड्काले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा खड्काले न्याय सेवा छिटो छरिटो बनाउन मेलमिलापकर्ताको भूमिका अहम् हुने भएकाले तालिममा सहभागीहरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल कानुन आयोग तथा भक्तपुर बारका पुर्ब अध्यक्ष बरिष्ठ अधिबक्ता बाबुराजा जोशी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश नारायण पौडेल, नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य तथा भक्तपुर बारका पुर्वसचिब किरण न्यौपाने, भक्तपुर बार एसोसिएसनका अध्यक्ष राम सुन्दर खाइतुलगायतले तालिम फलदायी हुने अपेक्षा राख्नुभयो ।
भक्तपुर बार एसोसिएसनका उपाध्यक्ष प्रिये कुमार थापाले स्वागत मन्तब्य दिनु भएको कार्यक्रममा भक्तपुर बारका पुर्ब अध्यक्षहरु बरिष्ठ अधिबक्ता हरि राउत, बरिष्ठ अधिबक्ता विवेकराज ढुङेल, महेश श्रेष्ठ, शशी चन्द्र मिश्र, गजेन्द्र शंकर तिमिला, कमलराज थापा, देबेन्द्र थापा श्रेष्ठ र निबर्तमान अध्यक्ष रबिन्द्र प्रधानलगायतको आतिथ्यता रहेको थियो ।
भदौ २० गतेसम्म सञ्चालन हुने तालिममा २७ जना प्रशिक्षार्थी रहेका छन । मेडिएसन नेपाल संस्थाको संयोजनमा सञ्चालन भएको तालिममा मुख्य प्रशिक्षक सन्तोष राना मगर प्रशिक्षण दिनुहुने भक्तपुर बारका सचिव एवम् तालिम आयोजना तथा ब्यबस्थापन समितिका संयोजक अनिश सुवालले जानकारी दिनुभयो ।