भक्तपुर, भदौ १७
मध्यपुर थिमिमा मनाईने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ले यसवर्ष भक्तपुरको दत्तात्रयसम्मको नगर परिक्रमा गर्ने भएको छ । यसवर्ष पनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन तयार हुनुभएका मध्यपुर थिमि–४ का विरेन्द्रभक्त श्रेष्ठको इच्छानुसार जात्राले भक्तपुरको दत्तात्रय परिक्रमा गर्न लागेको हो ।
मध्यपुर थिमिमा दुई वटा जिब्रो छेड्ने जात्राको परम्परा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्षको बैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा हो भने दोस्रो ईन्द्रजात्राको परिवेशमा आश्विन शुक्ल पुर्णिमा अर्थात येयाँ पुन्हीको दिन हुने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा हो ।
बैशाख २ गते बोदेमा हुने जिब्रो छ्ड्ने जात्राको निश्चित जात्राको प्रदिक्षामार्ग हुन्छ । तर थिमिको जिब्रो छेड्ने जात्राको निश्चित जात्राको प्रदिक्षामार्ग हुँदैन । यो जात्रामा जिब्रो छेडाउने व्यक्तिको इच्छानुसार परिक्रमा गराईन्छ । गतवर्ष पनि जिब्रो छेडाएका विरेन्द्रभक्तले पशुपतिसम्मको यात्रा गरेका थिए ।
विरेन्द्र भक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर लोप हुन लागेको जात्रालाई पुनर्जिवित गर्नुभएको थियो । उहाँले दोस्रो पटक २०७९ सालको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो भने गतवर्ष पनि उहाँले नै जिब्रो छेडाउनुभएको थियो । २०८० मा भने बालकराम नानिचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
स्थानीय दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा जिब्रो छेडाएर शुरु हुने यो जात्रा परिक्रमा गर्ने निश्चित मार्ग तोकिएको छैन । जात्रामा जिब्रो छेड्ने व्यक्तिको टोलको इष्ट गणेशको दर्शन पछि उसको इच्छा अनुसारको स्थानको परिक्रमा गराउने यो जात्राको एउटा विशेषता हो । यसै विशेषता अनुसार यसवर्ष भक्तपुरको दत्तात्रयको परिक्रमा गर्न लागेको विरेन्द्रभक्त गजु श्रेष्ठले बताउनुभयो ।
जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले एक महिना अघि नकर्मीलाई नातु बनाउन आग्रह गर्नुपर्छ, त्यसका लागि जिब्रो छेडाउने व्यक्तिले पुजा सामग्रीका साथ सम्ये बजी र एउटा रातो भाले लिएर नकर्मीको घरमा जानुपर्छ ।
जिब्रो छेडाउने व्यक्तिको आग्रह अनुसार नकर्मीले नातु तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।
जात्राको लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।
त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।
डवलीमा नकर्मीले बनाएको करिव १० इन्च लामो नातुबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ ।
यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिव्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।