संस्थागत क्षमता स्वमूल्यांकनमा मध्यपुर थिमिको ९१ प्रतिशत अंक, जिल्लामा दोस्रो

भक्तपुर, भदौ ६
मध्यपुर थिमि नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा ९१ प्रतिशत अंक हासिल गरी भक्तपुर जिल्लामा दोस्रो हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार लिजाको आ.व. २०८०÷०८१ को नतिजा सार्वजनिक गरेको हो ।
कार्यविधि अनुसार स्थानीय तहको स्वमूल्याङ्कनका विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।
सार्वजनिक गरेको नतिजामा मध्यपुर थिमिले शासकीय प्रबन्धमा ८६.११ प्रतिशत, संगठन तथा प्रशासनमा शत प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८६.३६ प्रतिशत, वित्तिय एवम् आर्थिक व्यवस्थापनामा शत प्रतिशत, सेवा प्रवाहमा ९८.४४ प्रतिशत, न्यायिक कार्य सम्पादनमा ७१.४३ प्रतिशत, भौतिक पूर्वाधारमा ७३.०८ प्रतिशत, सामाजिक समावेशीकरणमा १०० प्रतिशत, वातावरण संरक्षण तथा विपत व्यवस्थापनमा ९४.४४ प्रतिशत र सहकार्य तथा समन्वयमा १०० प्रतिशत अंक प्राप्त गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाले लिजाको नतिजामा आ.व. २०७९÷८० मा ८४.२५ प्रतिशत, आ.व. २०७८÷०७९ मा शुन्य प्रतिशत अक हासिल गरेको थियो ।
जिल्लामा चाँगुनारायण नगरपालिका पहिलो भएको छ । लिजाको नतिजा अनुसार चाँगुनारायणले ९२.५ प्रतिशत अंक हासिल गरेको छ । सूर्यविनायक नगरपालिकाले ९०.५ प्रतिशत अंक हासिल गर्दै जिल्लामा तेस्रो हुँदा सबैभन्दा कम भक्तपुर नगरपालिकाले ८९ प्रतिशत अंक हासिल गरेको नतिजामा उल्लेख छ ।