भक्तपुर, भदौ ५
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले निलबाराही संरक्षणको प्रक्रियामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस सोसाइटीले बिहिवार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पनलबाराही संरक्षण केवल आस्था र विश्वासको विषय मात्र नभई नेतृत्वको दायित्व र जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुरुमा डीपिआर बनाउन माटो परीक्षण फिल्डमै गर्नुपर्ने भएकाले केही समय लागेको हो । तर, अब यो वा त्यो कारण देखाएर काम रोकिने स्थिति आउँदा बजेट कार्यान्वयनमा समस्या पर्न सक्छ । दश महिना मात्रै बाँकी छ, ढिलाइ भए यो बजेट फिर्ता हुने हो कि भन्ने चिन्ता छ ।”
श्रेष्ठले संरक्षण कार्यलाई अब कुनै बहानामा रोक्न नहुने भन्दै योजनालाई समयमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गर्नुभयो । कार्यक्रमको सभापतित्व नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गर्नुभयो ।