भक्तपुर, भदौ ५
भाद्र कृष्ण त्रयोदशीका अवसरमा बिहिवार बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ (पञ्चदान) पर्व मनाएका छन । यो पर्वमा भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गर्नुका साथै गच्छे अनुसारको दान गरिएको थियो । यस दिनमा पृथ्वीमा उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।
पञ्चदानको अवसरमा दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवहीको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा गरेका थिए ।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थापाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराईएको थियो ।
नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा गराउने, विशेष परम्परागत बाजाको ताल र लयमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ ।
परम्परा अनुसार पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याएको थियो । त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क लगिने छ । साथै भार्वाचो, वंशगोपाल हुँदै अन्तिममा टौमढी पाँचतले मन्दिर पु¥याएको थियो ।
पञ्चदानमा स्थानीयले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिन्छन । पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, कांक्रो आदि गच्छे अनुसार दान दिने प्रचलन रहेको छ । यो दिनमा फलफूल सख्खर पानी (सर्वत) र औषधिको दान पनि गरिन्छ ।
पञ्चदानको दिन पूजामा सुर्यमुखी फुल, धुप, दीप, गन्ध र रस, भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाँटि, केराउ, मास, पिंडालु, मुला आदि, पेय पदार्थमा सख्खर पानी (सर्वत), सिसाफल (फलपूmल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक, दतिवन आदी दान गर्ने परम्परा रहेको छ ।
बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गराउँछन । दीपङ्कर बुद्धलाई परम्परागत गँुला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गराइन्छ । बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ ।
यसैगरी मध्यपुर थिमिमा पनि पञ्चराँ पर्व मनाईन्छ । मध्यपुर थिमिमा पनि विभिन्न बहालमा भएका दिपंकर बुद्धलाई नगर परिक्रमा गराउनुका साथै दान लिने र दिने गरी यो पर्व मनाईन्छ । यो पर्व भक्तपुरमा केही दशक यता बौद्ध धर्मावलम्बी बाहेकका नेवार समूदायले पनि मनाउँदै आएका छन ।